निजी क्लिनिकमा विरामी रिफर गर्छन् सरकारी डाक्टर


शुभेन्दर दास,लहान ।

सिरहाको लहानस्थित राम कुमार सारडा उमा प्रसाद मुररका स्मारक अश्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल प्रसाद कुशवाहाले आफू कार्यरत अश्पताल नजिकै खोलेको निजि क्लिनिकमा विरामी रिफर गर्ने गरेको पाईएको छ ।
मेसु कुशवाहले आफू कार्यरत अश्पतालबाट पश्चिम दिशामा करिव १०० मिटरको दुरीमा खोलेको श्रेया पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.मा विरामी रिफर गर्ने गरेको पाईएको हो ।
उनको निजि क्लिनिकमा विरामीको सँधै भिड लाग्ने गरेको छ, एक स्थानियले भने, उनि कार्यरत सरकारी अश्पतालमा उपचार गराउन आएका विरामीलाई उनले आफ्नो निजि क्लिनिकमा उपचार गराउन बाध्य बनाउने गरेका छन् ।

सरकारी अश्पतालमा कार्यरत डाक्टरले आफू कार्यरत अश्पताल नजिकै निजि क्लिनिक सञ्चालन गर्नु गैर कानुनी मानिने बताउँदै सिरहा क्षेत्र नं.१ क का प्रदेश सांसद लगनलाल चौधरीले भने , मेसु कुशवाहलाई कार्वाहीको लागि प्रदेश सभामा आवाज उठाउने छु ।

लहान नगरपालिकाका मेयर मुन्नि साहले मेडिकल सुपरिटेन्डेन्ट कुशवाहालाई कार्वाहीको लागि प्रदेश सरकारलाई बारम्बार ध्यानआकर्षण गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेको बताउँछन् । मेयर साह भन्छन् , मेसु कुशवाहलाई कार्वाही गर्न प्रदेश सरकारले किन चासो लिएको छैन मलाई अचम्म लागिरहेको छ ।

उनि कार्यरत राम कुमार सारडा उमा प्रसाद मुररका स्मारक अश्पताल भने फोहोरको डँगुरले दुर्गन्धित बनेको छ भने नागरिक वडापत्र लगायतका अश्पतालको सेवा सम्बन्धि बोर्डहरु कामै नलाग्ने अवस्थामा छन् । रंगरोगन हुन नसक्दा ५० शैयाको उक्त अश्पतालको भवन भुत बंगलामा परिणत हुँदै गएको छ । यस बिषयमा मेसु कुशवाहसँग प्रतिकृया लिन खोज्दा उनिसँग सम्पर्क हुन सकेन ।