गाडीकाे ब्रेक फेल भएर घरभित्र पस्दा एकको मृत्यु


पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा गाडीको ब्रेक फेल भएर घर भित्र पस्दा एकको मृत्यु भएको छ ।
दुवाकोटको सरस्वतीखेल खड्का टोल सडक खण्ड अन्तर्गत राईटारडाँडामा बा १ ख ९०९० नम्बरको गाडी ब्रेक फेल भएर पछाडी फर्कने क्रममा घरमाथि खस्न पुगेको हो ।
नेपाल ईञ्जिनीयरिङ कलेज, बेसी हुँदै रत्न पार्क चल्ने गाडी दुर्घटना भई घरमा छिर्दा घरभित्र रहेका ४ मध्ये १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भान्सामा खाना बनाउँदै गरेका ३५ बर्षीय घरमुली भिम योञ्जन रहेका छन् । सिन्धुपाल्चोक स्थायी घर भएका योञ्जनका श्रीमती, छोरा र सालो भने सकुसल रहेका छन् ।
बेसी सडक बन्द भएका कारण बैकल्पिक सडकबाट आउने क्रममा राई डाँडाको ठाडो उकालोमा गाडी चढ्न नसक्दा पछाडी फर्केर घरको छानाबाट नै छिरेको कारण घर पूर्ण रुपमा ध्वस्त भएको प्रत्यक्ष दर्शीको भनाई छ ।
योञ्जनको परिवार जग्गा भाडामा लिएर जस्ताको टहरा हालेर बस्दै आएका थिए । बैदेशिक रोजगारीको सिलसिलामा रहेका योञ्जन ३ दिन अघिमात्रै नेपाल आएका हुन् । घटनाको प्रहरीले अनुसन्धान गरि रहेको जनाएको छ ।
बस चालक दोलखा शैलुङेश्वर गाउँपालिका–४ का ३९ वर्षीय वेदबहादुर चौलागाईंलाई राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।