१९ लाख घुससहित सडक डिभिजन कार्यालय लहानका प्रमुख पक्राउ


 

सुभेन्द्र दास, लहान ।

सडक डिभिजन कार्यालय लहानका प्रमुख बिनोद साह रौनियारसहित तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो गोपाल अधिकारीका अनुसार सेवाग्राहीबाट एक होटलमा नविन झा र विरेन्द्र साहसँग रकम लेनदेनको काम भएको थियो । योसँगै सडक डिभिजन कार्यालयको निजी क्वाटरमा प्रमुख बिनोद साहलाई सोधखोज गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको बताए ।
प्रमुख साह नगद रु ३ लाख र इन्जिनियर नविन झासंगै विरेन्द्र साह १५ लाख ९८ हजार रकम सहित पक्राउ परेको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर स्थानीय जनप्रतिनिधिको रोहबरका मुचुलका बनाएको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनीहरुलाई १८ लाख ९८ हजार घुस रकम सहित पक्राउ गरेको जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।
सडक डिभिजन कार्यालय लहानका प्रमुख बिनोद साह रौनियारको यहाँबाट सरुवा भइसकेकोले उनी शनिवार विहानै काठमाण्डौ जाने तयारीमा रहेको थियो ।