नेपाल टेलिकमले छिट्टै २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ। हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ। यस सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेका छन्।
हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ। ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ।
हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेट १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ।
मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ। फोरजीको अधिकतम उपादेयताको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ।
उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ।त्यसैले फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया