राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बिहीबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सातवटै प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले सम्बन्धित प्रदेशका मतदाताको संख्या प्रकाशित गरेका छन्।

बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन र ११ बजेदेखि ४ बजेसम्म नामावलीउपर दाबी विरोधको उजुरी दिने कार्य गरिएको थियो।

यसरी सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र ७ सय ५३ स्थानीय तहतर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन्।

उनीहरूको मतभार भने फरकफरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ। उजुरीउपर छानविन गरी अन्तिम नामावली आज शुक्रबार प्रकाशित गरिने छ।

कार्यक्रमअनुसार २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। मनोनयन दर्ता भएका उम्मेदवारको नामावली पनि सोही दिन प्रकाशित गरिनेछ। त्यसैगरी २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयन र उजुरीउपर छानविन गरी निर्णय गर्ने र २३ गते नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।

२४ गते उम्मेदवारको नाम फिर्ता गर्ने प्रक्रिया पूरा भएपछि २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने माघ ९ गते हुनेछ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ।

तर नाम समावेश भए पनि कानुन प्रक्रियाबमोजिम हटेको व्यक्ति उम्मेदवार हुन बाधा नहुने आयोगकै भनाइ छ। राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारबाट मनोनित १ गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिदैछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ।