कालापहाडबाट जिप खस्दा ५ जनाको मृत्यु

0
Shares

दयाराम पण्डित, बाजुरा।

बाजुराको हिमाली गाउँपालिका–७ बाजो भन्ने ठाउँको कालापहाडमा बलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो २ बजे बूढीनन्दा नगरपालिका कोल्टीतर्फ आउँदै गरेको से१ज १०६४ नं को बलेरो जिप कर्णाली नदीमा खसेको हो।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–६ पाणीका पवन भण्डारी, जगन्नाथ गाउँपालिका–२ गोत्रीका रमेश शाही, स्वामीकार्तिक गाउँपालिका–४ वाईका सुशीला विक र कैलाली मोहन्याल गाउँपालिका–५ का दिनेश घर्तीमगर रहेका छन्।

मृतक रमेश चालक एवम् सवारीधनी हुन् भने मुगुका एकजना मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
जिपमा ९ जना सवार रहेका थिए। सोही दुर्घटनामा परी ४ जना घाइते भएका छन्।

घाइते हुनेमा मुगु कर्मरोग गाउँपालिका–८ का थेम्चो लामा, कर्मरोग–८ कै तोर्सी लामा, बाजुरा बूढीनन्दा नगरपालिका–६ का सरु विक र उनकी दुई वर्षीया छोरी स्मृति विक रहेको प्रहरीले जनाएको छ।

घाइतेहरू सबैको कोल्टी प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा सामान्य उपचार गरिएको थियो। साँझ ५ बजे सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि नेपालगन्ज कोहलपुर पठाइएको छ।