कालञ्जरमा मृग सरोबरको छिट्टै डीपीआर बन्छ– मन्त्री बिकास लम्साल


दुर्गाप्रसाद शर्मा, पर्वत ।

धर्मग्रन्थहरुमा पबित्र भूमिको रुपमा ब्याख्या गरिएको पर्वतको उत्तरमा पर्ने कालञ्जर पर्वतमा रहेको प्राचिन मृग सरोवरलाई पुर्नजीवन दिन छिट्टै बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) बनाइने भएको छ ।

पौराणिक धार्मिक ग्रन्थहरुमा अत्यन्तै पबित्र तपोभूमि मानिएको कालञ्जर पर्वत र त्यहाँ अबस्थित मृग सरोवरलाई पुर्नजीवन दिन गण्डकी प्रदेश सरकारले डिपीआर बनाउन लागेको हो ।

कालञ्जर र मृग सरोवरलाई भारतको नैनीताललाई बिर्साउने गरि धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउका लागि प्रदेश सरकारले डिपीआर र पुर्बाधार बिकासका लागि बजेट समेत बिनियोजन गरेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले जानकारी दिनुभयो ।

कालञ्जरको फेदी पर्वतको जलजला गाउँपालिका वडा नं ३ मा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाको भवन उद्घाटन तथा १३ औ साधारणसभामा बोल्दै मन्त्री लम्सालले यस आर्थिक बर्षमा नै जलजलामा मृग सरोबर बनाउन डिपीआर तथा पुर्बाधार बिकासका लागि १ करोड रुपैंया प्रदेश सरकारले बिनियोजन गरेको जानकारी दिनुभयो ।

‘कालञ्जर र मृग सरोवर धार्मिक ग्रन्थमा होइन प्रत्यक्ष रुपमा हेर्न सक्ने गरि बिकास गर्दैछौ’ मन्त्री लम्सालले भन्नुभयो ‘भारतको नैनीताललाई बिर्साउने गरि धार्मिक र पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न गण्डकी प्रदेश सरकार लागेको छ ।’ प्रदेश सरकारले डिपीआर बनाउन २० लाख र अन्य पर्यटकीय पुर्बाधार बनाउन ८० लाख रुपैया यसै आर्थिक बर्षमा खर्च गर्न लागेको छ ।

प्राचिन धर्मग्रन्थहरुका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । अग्निपुराण, बिष्णुपुराण र श्रीमद्भागवत महापुराणले राजर्षि जडभरलको तपस्थली र उनका तीन जन्म संग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पबित्र भूमिको रुपमा कालञ्जरको ब्याख्या गरेका छन ।

हिन्दु धर्मालम्बीहरुले पितृ उद्दारका लागि गंगासागर देखि मुक्तिनाथ सम्मका तीर्थस्थललाई पबित्रस्थलको रुपमा मानेका छन । गंगासागर जत्तिकै पबित्र तीर्थस्थलको रुपमा धर्मग्रन्थमा उल्लेख भएको प्राचिन मृग सरोवर अहिले सिमसार बनेको छ । कालञ्जर पर्वतका बिभिन्न टाकुरामा समथर भुगोल र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ । जलजला गाउँपालिकाको नाम यसैबाट नामाकरण भएको छ ।

मन्त्री लम्सालले वारी बेनी देखि मल्लाज पुग्ने मोटरबाटोमा ज्यान हत्केलामा राखेर हिड्नुपर्ने अबस्थाको अन्त्य गर्ने आश्वासन पनि दिनुभयो । प्रदेश सरकारले यो सडकलाई स्तरउन्नती गर्ने छ, उहाँले भन्नुभयो । वर्तमान सरकार सम्बृद्धिको दिगो मार्गचित्र कोर्नका लागेका कारण जनताले चाहे जस्तै सम्बृद्धि र बिकास पाँच बर्षमा दिइने पनि बताउनुभयो ।

मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले १ करोड ५७ लाख रुपैंयाको लागतमा सहकारीको आफ्नै भवन निर्माण गरेको छ । ग्रामिण क्षेत्रमा निर्माण भएको सहकारीको भवनमा डिर्माटमेञ्टल स्टोर सञ्चालन गर्ने, सभाहल, ब्यापारिक प्रयोजनका सटरहरुको समेत ब्यबस्था गरिएको सहकारीका अध्यक्ष लालबहादुर अधिकारीले बताउनुभयो । सहकारीमा १ हजार १ सय भन्दा बढी बचतकर्ता रहेका छन भने ९ करोड रुपैंया भन्दा बढी लगानी गरेको छ ।