जुनार चीन निर्यात गर्ने बाटो खुलेको छ : प्रचण्ड

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउपालिकाको जुनार सुपरजोन क्षेत्रका जुनार किसानहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’लाई ७ बुदेँ ज्ञापन पत्र बुझाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सपुरजोन संचालक समितिले भ्रमण बर्ष २०२० को अवसरमा बुधवार अध्यक्ष प्रचण्डसँग जुनार किसानहरुको सामुहिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै ज्ञापन पत्र बुझाएको हो ।

जिल्लाकै पहिचानको रुपमा स्थापित जुनारको व्यवस्थित बजारीकरण, सडक निर्माण तथा मर्मत, खानेपानी तथा सिँचाई, चिस्यान केन्द्र, गोलन्जोर भ्यूटार व्यवस्थापन लगाएतको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

किसानले राखेका मागहरु पुरा गर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष प्रचण्डले जुनारलाई अझै व्यवसायीक रुपमा उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जुनार उत्पादनमा अहिले सम्म राज्यले गरेको लगानी पर्याप्त नभएको भन्दै जुनारको संरक्षण संवद्र्धनमा राज्यले वैज्ञानिक तरिकाले लगानी गर्नुपर्ने र जुनार किसान र व्यवसायीहरुले पनि लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।‘

अहिले मैले बुझेसम्म व्यक्तिगत उत्पादनको रुपमा जुनार उत्पादन हुदै आएको छ । अवको आवश्यकता भनेको व्यवसायीक रुपमा उत्पादन गर्नुपर्छ । ठूलो मात्रामा उत्पादन गर्नुपर्छ ।

यसको संरक्षण संवद्र्धनमा वैज्ञानिक तरिकाले राज्य र त्यस खालका व्यवसायीहरुले पनि लागनी गर्नुपर्ने आवश्यकता छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
तत्कालिन समयमा आफू प्रधानमन्त्री हुदाँ देशका विभिन्न ठाउँमा पुगेर प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना लागू गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले जुनारलाई देशभित्र मात्रै नभई अरु देशमा पनि निर्यात गर्न सक्ने गरी उत्पादन गर्नुपर्ने बताउनुभयो ।

जुनारलाई अरुदेशमा पनि निर्यात गर्ने वातावरण सिर्जना गर्ने विषयमा केन्द्रमा पटक पटक छलफल भएको बताउदै अध्यक्ष प्रचण्डले जुनार, सुन्तला, कागती लगाएतका फलफुल चिन निर्यात गर्ने बाटो खुलेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जुनार सुपरजोन बनाउन मेरो पनि हात छ । देश भित्र मात्रै होईन । व्यवसायीक रुपले अरु देशमा पनि निर्यात गर्ने वातावरण बनाउने कुरामा केन्द्रमा पनि पटक पटक छलफल हुने गरेको छ ।’

पछिल्लो चरण चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली जुनार निर्यात गर्ने गाँठो फुकेकाले जुनारलाई व्यवसायीक रुपमा निर्यात गर्ने वातावरण भनेको अध्यक्ष प्रचण्डले बताउनुुभयो ।

‘जुनार, सुन्ताला, कागती लगाएतका फलफुल चिन निर्यात गर्न पहिला केही समस्याहरु थिए । रुख विरुवा नै स्वस्थ्य हुनपर्ने भन्ने जटिल्ता हटेको छ । अव फल निरोगी भए मात्र हुने भएपछि जुनार चिन निर्यात हुन्छ ।

यो किसानको लागी खुसीको कुरा हो’ उहाँले थप्नुभयो । जुनार उत्पादनमा राज्यले गरेको प्रयास पर्याप्त नभएको उहाँको भनाई छ । ‘लगानी गर्ने, व्यवसायीक रुपमा उत्पादन गर्ने, बजारको व्यवस्थापन गर्ने, रोगको अनसन्धान, व्यवस्थापन गर्ने कुरामा अझै अपर्याप्तता छ ।

किसानले उठाएका मागहरुलाई गम्भिरता पुर्वक लिएर पार्टीमा र सरकारमा एजेण्डा बनाउने र अगाडी बढाउन सहयोग गर्नछु विश्वस्त हुनुहोस्’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

सिन्धुलीको गोलन्जोर, सुनकोशी, तिनपाटन, फिक्कल गाउपालिका र कमलामाई नगरपालिमा जुनार उत्पादन हुदै आएको छ । जिल्लाका झन्डै ५ हजार किसानले जुनारबाट बार्षिक लाखौं आम्दानी लिदै जिवीका चलाउदै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय खनियाँखर्कका प्रमुख देवराज अधिकारीका अनुसार सिन्धुलीको जुनारसुपरजोन क्षेत्रमा बार्षिक ९ हजार मेट्रिकटन उत्पादन भई ३२ करोड मूल्य बराबरको करोवार हुदै आएको छ ।

केही बर्षदेखि जुनारमा किरा लाग्दा यहाँका जुनार किसान निरास थिए । तर अहिले किरा नियन्त्रण हुदै गएको परियोजना ईकाई कार्यालय खनियाँखर्कका प्रमुख अधिकारीले बताउनुभयो ।