विजेतालाई १ किलो चाँदी

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

हेटौंडामा बुधबार सम्पन्न जिल्लास्तरीय वीपी कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि नेपाली कांग्रेस हेटौंडा–२ ले हात पारेको छ। प्रतियोगिताको विजेता बनेको टिमले नगद ५० हजार, एक किलो चाँदीजडित मेडलसँगै शिल्ड पाएको छ।

नेपाली कांग्रेस हेटौंडा–२ ले नेपाली कांगे्रस हेटांैडा–३ लाई सडेनडेथमा पराजित गरेको हो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा टुंँगिएपछि खेलको निर्णयका लागि टाइब्रेकर गरिएको थियो।

टाइब्रेकरमा पनि दुवै टिमबाट बराबरी गोल भएपछि खेल सडेनडेथमा पुगेको थियो। फाइनलको म्यान अफ दी म्याच वडा–३ का गोलरक्षक गोपी बर्तौला घोषित भए। उनले नगद एक हजार प्राप्त गरे।

उत्कृष्ट गोल रक्षक हेटौंडा–२ का सफल तिमल्सिना, उत्कृष्ट खेलाडी सोही वडाका अनिल थापामगर, राइजिङ प्लेर अफ दी टुर्नामेन्ट सोही वडाका लक्ष्मण बिडारी, उत्कृष्ट प्रशिक्षक वडा–२ कै विजयलाल श्रेष्ठ घोषित भए।

उनीहरूलाई जनही २ हजार पाँच सय नगदसँगै ट्रफी प्रदान गरिएको थियो। प्रतियोगितामा मकवानपुरका २२ टोलीको सहभागिता थियो।

४४ औं मेलमिलाप दिवसका अवसरमा आयोजना गरिएको प्रतियोगिताको उपविजेताले २५ हजार नगद, शिल्ड र मेडल प्राप्त गरेको छ। नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा प्रदेश–३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले पुरस्कार प्रदान गरेका थिए।