दुई विभागीय क्लबलाई सुखद नतिजा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सुखद नतिजा आत्मसात गरेका छन्। बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले थ्रीस्टार क्लबलाई २–० ले हराएको हो। टोलीको जीतमा नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरेका थिए। यस्तै पुलिसले संकटा क्लबलाई २–१ ले पन्छाएको थियो।

पुलिसलाई जीत दिलाउन दुवै गोल सुमन लामाले गरेका थिए। तेस्रो जीतसँगैं आर्मी ९ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ। मछिन्द्र क्लब ९ अंकसहित दोस्रो स्थानमा छ भने मनाङ मस्र्याङदी क्लब १० अंकसहित शीर्ष स्थानमा रहेको छ।

यस्तै पुलिस ७ अंकसहित पाँचौं स्थानमा रहँदा पहिलो हार बेहोरेको थ्रीस्टार ७ अंकका साथ छैठौं स्थानमा झरेको छ। संकटा भने दोस्रो हारसँगै ४ अंक जोडेर दशौं स्थानमा रहेको छ।आर्मीले दुवै गोल दोस्रो हाफमा सम्भव पारेको थियो।

नवयुगले ५४औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। भरत खवासले दायाँ विंग्सबाट गरेको क्रसलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट एक्रोब्याटिक शैलीमा गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो। उनले जर्सी छाडेर खुशीयाली मनाए तर यसको भर्पाइ पहेँलो कार्ड खाएर गर्नु परेको थियो।

सन्तोष तामाङले ७९औं मिनेटमा फ्रिकिक प्रहारलाई गोलमा परिणत गरेर फुटबलमा उत्कृष्ट पुनरागमन गरेका छन्। बउनले करिब २५ यार्डको दुरीबाट फ्रिकिक प्रहार गरेका थिए। भुटानमा भएको कु्वेतविरुद्ध विश्वकप छनोट खेल खेल्न अघिल्लो दिन अनुशासनहीन कार्य गरेकाले सन्तोष ४५ दिनको कार्वाहीमा परेका थिए।

उनले कार्वाहीको समय पुरा गरेपछि लिगमा खेल्न शुरु गरेका हुन्। उनले लिगका अघिल्ला तीन खेल खेल्नबाट वञ्चित भएका थिए। तर उनले प्रतिबन्धबाट फर्केर पुनः खेल्न शुरु गरेपछि गोल नै गरेका छन्। उनले गोल गरेपछि दुवै कान बन्द गरेर गोलको खुशीयाली मनाएका थिए।

त्यसो त सो खेलमा थ्रीस्टारलाई गोल गर्ने अवसर आएको पनि थियो। तर गोल गर्न भने सफल भएन। अन्तिममा प्राप्त पेनाल्टीमा समेत थ्रीस्टार चुकेको थियो। पेनाल्टी प्रहार रुपेश केसीले गरेका थिए। उनले गरेको प्रहारलाई आर्मी तथा नेपाली टोलीका गोलकिपर विकेश कुथुले डाइभ गरेर बचाएका थिए।

सो बल रिबाउन्ड हुँदा शुशील कार्कीले प्रहार गरे तर विकेशले पुनः बचाए। अर्को खेलमा पुलिसका लागि सुमनले १५औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए।

तर सो अग्रता धेरैबेर टिक्न सकेन। १८औं मिनेटमा संकटाले पेनाल्टीमार्फत् गोल फर्काएर खेल १–१ बराबरीमा पुर्याएको थियो। पुलिसका डिफेन्डर अजीत भण्डारीले बल हातले छोएका थिए, जसमा अमित तामाङले कुनै गल्ती नगरी गोल गरेका थिए।

पहिलो हाफ १–१ बराबरीमा समाप्त भएको थियो। सुमनले ३३औं मिनेटमा गोल गरेर पुलिसलाई पुन २–१ को अग्रतामा राखेका थिए। प्रवेश कुँवरको क्रसमा सुमनले वान भर्सेस वानमा गोलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै जाली चुमाएका थिए।

तस्वीर स्रोत : एन्फा