भक्तपुरमा २ सय ५४ मानव अधिकार हननका घटना

0
Shares

भक्तपुर, (नेस)।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जुनसुकै अपराधिक घटनामा पनि अपराधीलाई जोगाउन दबाब र प्रभावमा परेको पाइए कारवाही गरिने बताउनुभएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाको वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै उहाँले प्रहरीलाई पनि कुनै दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभयो।

उहाँले अपराधीलाई जोगाउन जस्तो सुकै ठाउँबाट दबाब र प्रभाव आएपनि नछाडिने र दोषीलाई कारवाही गरेरै छाड्ने भनाई राख्नुभयो। उहाँले मध्यराती सडकमा एउटी महिला निर्धक्कले हिड्नसक्ने अवस्था आएपछि मात्रै शान्तिसुरक्षा भयो भन्न सकिने बताउँदै यौन–हिंसा र बलात्कारका लुकेका घटना बाहिर आउन थालेकाले धेरै देखिएको बताउनुभयो।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले अपराधका नयाँ–नयाँ प्रकृतिहरू बाहिर आएको बताउँदै अपराधलाई शून्यमा झार्न निकै मुश्किल हुने बताउनुभयो।

उहाँले घटना लुकेर कम देखिनु भन्दा बाहिर आएर बढी देखिनु उपयुक्त भएको बताउँदै अझै पनि ४० प्रतिशत घट्नाहरू लुकेर बसेकाले त्यस्ता घटनालाई बाहिर ल्याइ दोषीलाई कारबाहीको दायरामा ल्याउन समुदायले सहयोग गर्नुपर्ने बताउनुभयो।

भक्तपुरलाई अपराध मुक्त बनाउने समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई समुदाय, विद्यालयसम्म लगेको बताउँदै प्रभावकारी ढंगले सबै लागे अपराध न्यून गर्न सम्भव हुने बताउँनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुर सानो जिल्ला भएकाले अपराधलाई न्यून गर्न अभियान नै सञ्चालन गर्नु पर्ने बताउनुभयो।

अझै पनि भक्तपुरमा हामी सुरक्षित छौं भन्ने अवस्था नरहेको बताउँदै उहाँले भक्तपुरलाई अपराध गर्न र अपराधी लुक्ने सुरक्षित ठाउँको रूपमा प्रयोग गर्ने खतरा रहेकाले सजग रहनु पर्ने बताउनुभयो।

कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधी रमेश गिरीले भक्तपुर जिल्लामा २०१९ जनवारीदेखि डिसेम्बर ३० सम्म एकवर्षको अवधिमा मानव अधिकार हनन र ज्यादतीका घटनाको विवरण प्रस्तुत गरेका थिए। इन्सेकका अनुसार भक्तपुरमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका २ सय ५४ घटना भएको छ।

सन् २०१९ को एकवर्षको अवधिमा भक्तपुरमा गैरराज्य पक्षको परिवारजनबाट १ र अन्य दुई गरी ३ जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरेको छ।

त्यस्तै बलात्कारबाट ३३ जना पीडित भएका छन् भने बलात्कार प्रयास घटनामा ३ जना महिला र बाल यौन दुव्र्यबहारमा २ जना बालिका पीडित भएका तथ्यांक सार्वजनिक गरिएको छ।