फोटो कन्सर्न नक्कली स्मार्ट लाइसेन्स बनाउने धन्दामा

0
Shares

काठमाडौं, (नेस)।

स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाई बिक्री गर्ने एउटा समूहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ,काठमाडौंको संयुक्त टोलीले छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो।

उक्त टोलीले अनुसन्धान गर्दै जाँदा पुतलीसडकबाट दीपक ब्लोनलाई नक्कली स्मार्ट लाईसेन्स फेला पारी सोधपुछ गर्दा नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बल्खुमा रहेको सुवास भन्ने बुद्धिबहादुर रोक्कालाई रू.३० हजार दिएपछि उनले आफ्नै आशिष स्टुडियोबाट डिजाइनिङ गरी न्युरोडमा रहेको फोटो कन्र्सनबाट नक्कली स्मार्ट लाइसेन्स बनाई लिने गरेको जानकारी प्रहरीलाई दिएका थिए।

प्रहरीले उनीहरूको बयानको आधारमा फोटो कन्र्सनमा छापा मार्दा फोटो कन्सर्न प्रा.लि. ले विभिन्न व्यक्तिको सरकारी लिखतहरू डिजाइनिङ गरी बिक्री गर्ने गरेको प्रहरीले फेला पारेको थियो।

प्रहरीले आशिष स्टुडियोका संचालक सुवास भन्ने बुद्धि बहादुर रोक्कालाई दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको सवारी चालक अनुमति पत्र थान–४, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्डसहित पक्राउ गरिएको र फोटो कन्सर्नमा लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, विभिन्न कलेजहरूको परिचयपत्रको प्रिन्ट, सीपीयूू,कटर मेसिन, प्रिन्टर, हार्डड्राइभ सर्बर बरामद गरेको छ।

अनुसन्धानको क्रममा उक्त फोटो कन्र्सन प्रालिका फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादवलाई पक्राउ गरेको छ। उनीहरूकै मिलेमतोमा उक्त अबैध काम हुने गरेको प्रहरीले जानकारी दिएको छ।