स्वयम्भूलाई पर्यटक हबका रूपमा विकास गर्छौं : मेयर शाक्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक हवका रूपमा विकास गर्ने बताउनु भएको छ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर बुधबारबाट शुरू भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले काठमाडौं महानगर क्षेत्रभित्रै विश्व सम्पदा सूचीमा सूचीकृत चार सम्पदा क्षेत्र रहेको भन्दै ती क्षेत्रको प्रर्वद्धनका लागि पनि यस्ता महोत्सव र साँस्कृतिक कार्यक्रमले थप सहयोग पुग्ने बताउनुभयो।

‘विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र र स्वयम्भूको दूरी करीब दुई दशमलब दुई किलोमिटर मात्रै छ,‘ उहाँले भन्नुभयो– ‘यी दुई सम्पदालाई जोड्ने गरी हामीले हनुमान ढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि गुरुयोजना तयार पारिसकेका छौं। यसलाई मूर्तरूप दिने प्रक्रियाको समेत थालनी भएको छ।’

मेयर शाक्यले आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरू भएको भन्दै महानगरपालिकाले यसलाई वर्ष भरी नै मनाउने र नेपाल घुम्न आएका पर्यटकको बसाई लम्ब्याउन नयाँ–नयाँ योजना ल्याउने पनि बताउनुभयो।

‘हामीले हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेका छौं,‘ उहाँले भन्नुभयो– ‘नेपाल घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने, उहाँहरूलाई मुस्कानसहितको सेवा प्रदान गर्ने, नेपाल चिनाउने केही उपहार दिएर पठाउनेजस्ता योजना पनि हामीले बनाएका छौं।‘

सांसद जीवनराम श्रेष्ठले पनि मूर्त–अमूर्त सम्पदा संरक्षणका लागि काठमाडौं महानगरपालिका र सरकारकाले सकारात्मक पहल गरिरहेको भन्दै काठमाडौं महानगरले सांस्कृतिक शहरको पहिचानलाई अझै उच्चो बनाउँदै थप पर्यटकलाई आकर्षित गर्ने गरी अघि बढ्नु पर्ने बताउनुभयो।

‘नेपाल सगरमाथा र बुद्ध जम्मिएको देश हो भन्ने पहिचान हामीले विश्वभरी नै चिनाउनुपर्छ,’ –उहाँले भन्नुभयो, ‘नेपाल भ्रमण वर्ष २०२० हाम्रा लागि अवसर पनि हो। यसलाई अब एक वर्ष मात्र होइन कम्तीमा आठ–दश वर्षसम्म अभियानकै रूपमा अघि बढाउनुपर्छ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र काठमाडौं महानगरपालिका वडा–१५ वडाको आयोजनामा यस्तो भव्य महोत्सव आयोजना भएको भन्दै खुशी व्यक्त गर्नुभयो।

‘काठमाडौँ महानगरपालिकासँग मिलेर हामीले यस अघि पनि ट्राफिक व्यवस्थापन, सरसफाई कार्यक्रम, सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणाजस्ता अभियानमा पनि सहकार्य गरेका छौं,’ –उहाँले भन्नुभयो, ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि काठमाडौं महानगरपालिकाको विशेष भूमिका छ।

हामी महानगरपालिकासँग यस्ता धेरै सहकार्य गरेर अघि बढ्न चाहन्छौं।’ महानगरपालिकाका प्रवक्तासमेत रहनु भएका वडाध्यक्ष ईश्वरमान डंगोलले एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक पहिचानहरू झल्कने कार्यक्रमहरू हुने पनि बताउनुभयो।