असफल हुनेले कसरी सफल बन्ने ?



सफलताशब्दमा ‘अ’ उपसर्ग लागेर ‘असफलता’को व्युत्पति हुन्छ। यहाँ ‘अ’ले विपरीतता, भिन्नता, अभावजस्ता अर्थ बोक्छ। यो देवनागरी लिपीको स्वरवर्णको पहिलो अक्षर हो। विष्णुलाई बुझाउनेध्वनि हो। त्यसैले यो भन्न सकिन्छ कि असफलता कामको शुरुवात मात्र हो। असफलतामा विष्णुरुप पनि लुकेको हुन्छ।

मानिस असफल आफ्नै कारणले हुन्छ तर त्यसलाई स्वीकार गर्न गाह्रो मान्छ। अनि बाह्य परिस्थितिलाई दोषारोपण गर्छ। तर वास्तवमा त्यसो होइन, दोषी आफ्नै मनस्थिति हो भनेर बुझ्नुपर्छ। आफैं हो भनेर महसुस गर्नुपर्छ र सफलताको लागि कठोर मेहनत गर्नुपर्छ।

हुनसक्छ कुनै प्रेरक वक्ता, पुस्तक, भिडियो, अडियो वा कुनै कुराले प्रेरणा दिन सक्छ। तर वास्तविक सफलताको लागि आफैं भित्रैदेखि प्रेरित हुनुपर्छ। आफैं लाग्नुपर्छ। आफैं जाग्नुपर्छ।

कहिले अनुकूल परिस्थिति आउँछ भनेर पर्खने होइन, आफूले चाहेको सफलता हासिल गर्न डटेर मेहनत गरी सकभर परिस्थितिलाई आफ्नो अनुकूलताको बनाउनुपर्छ। वास्तवमा भनिएकै छ– परिस्थिति लाख प्रतिकूल होस् तर मनस्थिति सधैँ अनुकूल हुनुपर्छ। आफ्नो भाग्यको निर्माण आफैंले गर्नुपर्छ।

सफल हुन चाहनेले आफैं जुर्मुराएर उठ्नुपर्छ। मधौरुले माड नखाँदासम्म उपचार लाग्दैन। तिर्खा लाग्दैमा खोला आउँदैन। खोला भेटिएन भनेर खोज्न छाड्नुहुँदैन।पानी नपिई त्यत्तिकै तिर्खा मेटिइँदैन। कसैले तपाईंलाई नदीसम्म लगे पनि पौडन तपाईं स्वयंले खुट्टा चाल्नै पर्छ।

आफ्नो बाटो आफैं खन्दै जानै पर्छ। आफ्नो आफैं पथप्रदर्शक बन्नुपर्छ। असफलताबाट अलिकति पनि हार मान्नुहुँदैन। जिना सोबाल्टरले भन्नुभएको छ– लड्नु असफलता होइन, अपितु हार मान्नु असफलता हो। किन हार मान्छौ तिमी बीउ हौ बीउ।

परमहंस योगानन्दले भन्नुभएको छ। सफलताको बीउ छर्नको लागि असफलताको मौसम सबैभन्दा उत्तम हुन्छ। जब असफल होइन्छ, हो त्यहीँबाट सफलता शुरु हुन्छ। भनिन्छ,जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ।हरेक दुर्भाग्यबाट सौभाग्य प्राप्त हुन्छ।

रिचार्ड ब्रान्सनले भन्नुभएको छ, ‘असफलताबाट नअतालिऔँ, त्यसबाट सिक र फेरि शुरु गर।’थियोडर रुजबेल्ट भन्नुहुन्छ’ ‘जसले कुनै गल्ती गर्दैन उसले उन्नति नै गर्दैन।’ तर महत्वपूर्ण कुरा के छ भने, एकपटक गरेको गल्ती पुनः दोहोर्याउनुचाहिँ हुँदैन।

अनुकूल समयमा त हामी धेरै सजिलै थुप्रै कुरा सिकिहाल्छौँ। तर प्रतिकूल अवस्थामा हामी तनावमा रहन सक्छौँ। असफल भएकाले रुन्छौँ। निराश हुन्छौँ। दुःख लाग्छ।हावा विपरीत बहेको महसुस हुनसक्छ।त्यस्तो बेला पनि हामी धेरै कुराको अनुभव गर्न सक्छौँ। त्यसबाट गतिलो पाठ सिक्न सक्छौँ।

एकपटक थोमस एल्वा एडिसनका दुई साथीहरूले उनलाई भनेका रहनेछन्, ‘हामीले अहिलेसम्म सात सयवटाप्रयोग गरिसक्यौँ तर पनि हरेकपटक हामी असफल भइरहेका छौँ। एडिसनले मन्द मुस्कानका साथ प्रतिउत्तरमा भनेछन्, ‘मित्रहरू, हामी असफल भएका होइनौँ। हामी यस विषयमा अन्य कसैले भन्दा सात सयअधिक जानकारी प्राप्त गरेका हौँ।

यस कार्यलाई नगर्ने सात सयवटा सूत्रहरू हामीले प्राप्त गर्यौँ। हामी उपलब्धिको सबैभन्दा धेरै नजिक छौँ। यस प्रकारको असफलतालाई मूल्ययुक्त शिक्षाभन्न सक्यौँ भने धेरै उचित हुनेछ।’ वास्तवमा कार्यमा स्पष्ट लक्ष्य र निरन्तर समर्पित भइरहने र हार नमान्ने स्वभावले गर्दा नै एडिसन विश्वविख्यात वैज्ञानिक बने।

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो। रात हुनु नै दिनको सबैभन्दा बलियो प्रमाण हो। जाडो हुनु नै गर्मीको प्रमाण हो।जीवन हुनु नै मृत्युको गतिलो प्रमाण हो। दुःख हुनु नै सुखको बलियो प्रमाण हो। मृत्यु नै जन्मको संकेत हो। गरिब हुनु नै धनी हुने प्रबल सम्भावना हो।

अज्ञानता नै ज्ञानको लागि सिँढी हो। नराम्रो लेखन नै राम्रो लेखनको शुरुवात हो। दुर्भाग्य नै सुभाग्य हुने योग हो। असफलता नै सफलताको कडी हो। तर मानिसको जीवनमा भने यो सब आफसे आफ हुँदैन। के हुने, के नहुने भन्ने कुरा आफूले अंगालेको विचार, गरेका अभ्यास र मेहनत, लिएको सहास र धैर्यता, दिइएको निरन्तरता र दृढ आत्मविश्वासमा भर पर्छ।

ईश्वरले हरेक मानिसलाई कुनै न कुनै खुशीले सुसज्जित गरेकै हुन्छ। तर थियोडर रुजबेल्टले ‘आफू जहाँ छौ त्यहीँ रहेर पनि आफूसँग जे छ त्यसैबाट भए पनि कुनै न कुनै काम गर, जुन तिमी गर्न सक्छौ’ भन्नुभएको जस्तोचाहिँ तपाईंले गर्नै पर्छ।

सफलता प्राप्तिको लागि तपाईंसँग सकारात्मक सोच,विचार, आचार र व्यवहार हुनैपर्छ। तपाईंले यी चार कुराहरू आफैंसँग गर्नुहोस्। म सबैभन्दा असल छु, यो काम गर्न सक्छु, सफल हुन्छु र आजको दिन मेरो हो।

अरू पाँच कुरा याद राख्नुहोस्– तपाईं राम्रो देख्नुहोस्, राम्रो सुन्नुहोस्, राम्रो बोल्नुहोस्, राम्रो सोच्नुहोस् र राम्रो अनुभूति गर्नुहोस्, सफल हुनुहुनेछ। यति मात्र होइन, परिस्थितिको सूक्ष्म अवलोकन गरी शान्त र विवेकशील भएर सामना गर्नुहोस् र आफ्नो आन्तरिक अवस्था बलियो बनाउँदै सबैखालका संकेतहरू बुझेर सकिने जति उपलब्धि लिइहाल्नुहोस्।

अमेरिकी लेखिका जेनिफर ली भन्नुहुन्छ,‘तपाईं आत्मसंसयविहीन भएर मात्र केही गर्न सक्नुहुन्छ। किनभने तपाईंले आफैंलाई जोगाइराख्नुपर्दैन।तपाईं असफल हुन सक्नुहुन्छ र आलोचना खप्न पनि।

तपाईं त्यो आलोचनाबाट तर्सनु जरुरी छैन, जसबाट तपाईं सिक्न र हुर्कन बिर्सनुभएको छ।’ तपाईंसँग‘म कहिल्यै हार्दिन, कि जित्छु कि सिक्छु’ भन्ने मण्डेलाको जस्तो इरादा हुनुपर्छ वा आइन्सटाइनले भनेजस्तो एउटा मान्छे जसले कहिल्यै गल्ती गर्दैन, केही नयाँ गर्न कोशिश गर्छ।

– श्यामकाजी, श्रेष्ठ, हाँडीगाउँ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्