कहाँ छन् ५ सय ७२ जना ?

0
Shares

नेपाल समाचारपत्र, बाँके।

नेपालगन्ज नाकाबाट बाहिरिएका ५ सय ७२ जना महिलाको अवस्था अज्ञात रहेको छ। सन् २०१९ मा यो नाकाबाट ८ सय ६९ जना महिला जोखिमपूर्ण यात्रामा रहेकोमा २ सय ९७ जना मात्रै फेला परेका हुन्।

माइती नेपाल, नेपालगन्जमा ८ सय ६९ जनाका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए। तीमध्येमा २ सय ९७ जना फेला परे। बाँकीको अवस्था पत्ता लाग्न सकेको छैन। नेपालगन्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा पुगेका नेपाली महिला घरपरिवारको सम्पर्कमा नआएका हुन्।

माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले प्रायः वैदेशिक रोजगारीमा गएकाहरू हराएको बताउनुभयो। ‘वैदेशिक रोजगारमा गएकाहरू फर्केर नआएको, धेरै समयसम्म सम्पर्कमा नभएको वा अति नै दुःख पाएको भन्दै रोएर फोन गरेपछि हामीलाई खोजतलास र उद्धारका लागि निवेदन दिने गरिन्छ, कोइरालाले भन्नुभयो, हामीले सकेसम्म उद्धार गर्छौं।’ खोजतलासका लागि निवेदन दिएका मध्येमा फेला परेका २ सय ९७ जना भने भारत र नेपालमै फेला परेका हुन्।

पछिल्लो समयमा नेपालगन्जलाई मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टका रूपमा लिने गरिन्छ। माइती नेपाल, नेपालगन्जका प्रमुख कोइरालाका अनुसार, खोजतलासका लागि निवेदनलाई हेर्दा बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, सल्यानका बढी रहेका छन्।
कुन समुदायका महिला बढी प्रभावित छन् त ? माइती नेपालको तथ्यांकमा ब्रम्हण क्षेत्री अगाडि छन्। त्य

सपछि दलित, जनजाति र आदिवासी रहेका छन्। उमेर समूहका अनुसार १८ वर्षभन्दामुनिका ३ सय ३९ जना छन्। मानव बेचबिखनका लागि नेपालगन्ज र बर्दिया नाकालाई दलालले प्रयोग गर्ने गरेको पाइन्छ।

पछिल्लो दिनमा जोखिमपूर्ण यात्रामा जाने महिलाले झोलासमेत बोक्न छोडेका छन्। दलाल त उनीहरू सँगसँगै हुँदैनन्।कोइरालाका अनुसार, जोखिमपूर्ण यात्रामा निस्केका ८ सय ९६ जनालाई माइती नेपालले नाकाबाट फिर्ता गरेको छ।

बेचबिखनविरुद्धमा कानुनी कारबाही भने कमै हुने गरेको छ। जोखिम परेका पीडितले नै प्रलोभनमा परेर दलाललाई बचाइदिने गरेको पाइन्छ। दलाललाई कारबाही गर्छु भनेर कस्सिने पीडित अन्तिममा आएर बयान फेर्ने गरेको कोइरालाले जानकारी दिनुभयो।