श्रेष्ठ दम्पतीका हत्यारा पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल सञ्चालन गरी बस्ने श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमाया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२५ भैंसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका–७ घर भएका किरणकुमार मगर र काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका–१० घर भएका सुमन राई रहेका छन्।

गत कात्तिक १९ गते राति ती दम्पतीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई भैंसेपाटी र राईलाई सरस्वतीनगर चावहिलबाट पक्राउ गरेको हो।

घटनामा प्रयोग भएको हतियारसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको व्युरोले जनाएको छ।