नेपाल भ्रमण वर्ष २०२० को सप्ताहव्यापी ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ उद्‍घाटन


काठमाडौं ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ काठमाडौं महानगरपालिकाका प्रमुख बिद्याशुन्दर शाक्यको सभापतित्‍वमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरिएको छ ।

बिश्‍व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू स्तुपा र यस वरपर रहेका मौलिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका ऐतिहासिक धरोहर, सम्पदा र सँस्कृतिहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गरी आन्तरिक तथा बाह्‍य पर्यटकहरुलाई आकर्षित गर्न प्रभावकारी सुरक्षा ब्यवस्थापनमा सामुदायिक सहभागिता अभिबृद्धिका लागि काठमाडौं महानगरपलिका-१५ समितिद्वारा उक्त कार्यक्रम आयोजना गरिएको  हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कार्यक्रमबारेमा चर्चा गर्दै यसको माध्यमबाट काठमाडौं महानगर सहयोगापेक्षी मुक्त बनाउन सबै पक्ष संयुक्त रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय-प्रहरी सझेदारी अन्तर्गतको यस कार्यक्रमको माध्यमबाट समुदायमा प्रहरी र नागरिक बिचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास ब्यक्त गर्नुभयो । समुदायमा हुने बिभिन्न किसिमका अपराधहरूको रोकथामको लागि प्रहरी सदैव जनतामा समर्पित रहेको चर्चा गर्दै कार्यक्रमको माध्यमबाट नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन अझै तत्पर भई लाग्न प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।

प्रदेश नम्बर ३ का सांसद जिवन राम श्रेष्ठले समुदाय-प्रहरी साझेदारीको माध्यमबाट नै जनतामा चेतना अभिबृद्धि गर्न सकिने र आगामी दिनमा यस्ता कार्यक्रमको माध्यमबाट सामाजमा हुन सक्ने अपराधको रोकथाम गर्न प्रहरी र जनता संयुक्त रुपमा लाग्नुपर्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिका १५ नम्बर वडा कार्यालयका प्रमुख ईश्‍वरमान डंगोलले कार्यक्रम बारेमा जानकारी दिनु भएको उक्त कार्यक्रममा सुरक्षा निकायका बरिष्ठ अधिकृतहरु लगायत स्थानीय ब्यक्तिहरू, बिभिन्न बिद्यालयका बिद्यार्थि तथा शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पुस २२ गतेसम्म संचालनमा रहने महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।