कम्पनी परिचय : बजार बिस्तार आक्रामक


नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल इन्डष्ट्रियल एन्ड कमर्स (एनआईसी) बैंक र बैंक अफ एसिया सन् २०१३ जुन ३० तारिखमा एकआपसमा मर्ज भएपश्चात एनआईसी एसिया बैंकको नामबाट एकीकृत कारोबार शुरू गरेको छ। यी दुई वाणिज्य बैंक एकआपसमा मर्ज भई अन्य बैंकलाई पनि मर्जरमा जाने बाटो कोरेका थिए। मर्जरपछि आक्रामक बजार बिस्तारमा लागेको यो बैंक सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंकका रुपमा रहेको छ।

सन् २०१३ मा बेलायतको प्रसिद्ध दि फाइनान्सियल टाइम्सले प्रदान गर्ने ‘बैंक अफ दि इयर’ प्राप्त गरेको यस बैंकको सञ्चालक समितिको अध्यक्ष तुलसीराम अग्रवाल छन् भने अन्य सञ्चालकहरूमा संस्थापकहरूको तर्फबाट रामचन्द्र संघाई र निकुञ्ज अग्रवाल, सर्वसाधारणको तर्फबाट त्रिलोकचन्द्र अग्रवाल, राजेन्द्रप्रसाद अर्याल र विनोदकुमार प्याकुरेल तथा स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठ रहेका छन्।

९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय २८ रुपियाँ चुक्ता पुँजी रहेको यस बैंकका शाखा संख्या ३१३ भन्दा बढी, एटीएम ४०६, एक्सटेन्सन काउन्टर ९८ र शाखारहित बैकिङ सेवा ४५ वटामार्फत करिब २० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। करिब २ हजार ५ सय कर्मचारी कार्यरत रहेका छन्।

यस बैंकले आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालन मुनाफा १,८२९ अर्ब, आर्थिक वर्ष २०७४/०७५ मा १,९१८ अर्ब र आर्थिक वर्ष २०७५/०७६ मा ४,५१४ अर्ब रहेको छ।

त्यसैगरी बैंकको खुद नाफा आर्थिक वर्ष २०७३/०७४ मा १,३६५ अर्ब, आर्थिक वर्ष २०७४/०७५ मा १,३३५ अर्ब र आर्थिक वर्ष २०७५/०७६ मा ३,०२३ अर्ब रहेको थियो। उक्त अवधिमा बैंकको जगेडा कोषमा विगत तीन वर्षमा क्रमशः १.८७ अर्ब, २.६९ अर्ब र ३.६९ अर्ब रहेको छ। सो अवधिमा बैंकको निश्कृय कर्जा क्रमशः ०.३६, ०.०६९७ र ०.४६ रहेको छ।

बैंकको २२औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको २१.०५२६ प्रतिशतका दरले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ रुपियाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० रुपियाँ बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपियाँ नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बंैकले १ अर्ब ९६ लाख ५ हजार रुपियाँ खुद नाफा कमाएको छ। यो गत वर्षको भन्दा ३४.१३ प्रतिशत बढी हो। गत आवको पहिलो बैंकले तीन महिनामा ७५ करोड २६ लाख ९७ हजार रुपियाँ खुद नाफा कमाएको थियो। त्यस यस अवधिमा खुद ब्याज आम्दानी न्यून १.२२ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ३४.६५ प्रतिशतले बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी ४ रुपियाँले बढेर ४० रुपियाँ ७८ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १५३ रुपियाँ ६१ पैसा रहेको छ। गत वर्ष वर्ष ३ अर्ब १५ करोड रुपियाँभन्दा बढी राजस्व तिरेको बैंकको हालसम्म व्यक्तिगत निक्षेप ६७ र संस्थागत ३३ प्रतिशत रहेको छ।

बैंकद्वारा प्रवाहित कर्जा कृषिमा १०.९०, ऊर्जा तथा पर्यटनमा १५.७३ र विपन्न वर्गमा ९.०८ रहेको छ। बैंकको पूर्ण स्वामित्वमा रहेका दुई एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त संस्था लिमिटेड रहेका छन्।