६० करोड राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा चार कम्पनीका सञ्चालकविरुद्ध करिब ६० करोड रुपियाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले सिराहामा रहेको गोमती गुट्खा उद्योगविरुद्ध ५१ करोड ९३ लाख रुपियाँ बिगो कायम गर्दै सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागले बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायसमेत माग दाबी गरेको छ। उद्योगका सञ्चालक मोहन महतो, सुपरभाइजर राजाराम चौधरी र उद्धवकुमार महतोविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।

राजस्व छली गर्ने उद्देश्यले अन्तःशुल्क स्टिकर नटाँसी उद्योगले गुट्खा बिक्री गरेको विभागले दायर गरेको अभियोग पत्रमा उल्लेख छ। त्यसैगरी विभागले जेबी सोलुसन प्रालिलाई झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा पौने ४ करोडको मुद्दा दायर गरेको छ।

सोलुसनका सञ्चालकद्वय जनार्दन भण्डारी र फिरोज मास्केसहित ५ जनालाई राजस्व चुहावट गरेको अभियोगमा ३ करोड ७१ लाख ४६ हजार ९ सय ५ रुपियाँ बिगो कायम गरी विभागले मुद्दा दायर गरेको हो। विभागले बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षको कैद माग गर्दै काठमाडौं जिल्ला अदालतमा पुस ९ गते मुद्दा दायर गरेको जानकारी दिएको हो।

यसैगरी विभागले सीआर ट्रेडिङविरुद्ध मासुजन्य पदार्थका सामानमा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोडको मुद्दा दायर गरेको छ।प्रोप्राइटर रिंकी चौधरी साहको नाममा दर्ता भएको फर्ममा मुख्य कारोबार गर्ने दिनेश रायसहित ७ जनालाई १ करोड ५ लाख रुपियाँ बिगो कायम गरी विभागले मुद्दा दायर गरेको हो।

यसैगरी विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राइटर रिंकी चौधरी र मुख्य कारोबारी दिनेश रायलाई ६३ लाख ८५ हजार बिगो कायमको माग दाबी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको विभागले जनाएको छ।

दीपज्योति ग्रुप एन्ड फुड प्रोडक्ट्स कम्पनी प्रालिविरुद्ध फ्रेन्च फ्राइजका सामानमा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा विभागले पौने ३२ लाखको मुद्दा दायर गरेको छ।

विभागले दीपज्योतिका सञ्चालक बासुदेव मरहठ्ठासहित १० जनालाई ३१ लाख ८९ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। साथै विदेशी विनिमय अपचलनको कसुरमा सोही फर्मका ४ जना संचालकहरूलाई २२ लाख ३९ हजार रुपियाँ बिगो माग दाबी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको हो।