विकासका लागि सबै एकै ठाउँ हुनुपर्छ : मन्त्री बास्कोटा



मोतीराम तिमल्सिना, काभ्रे।
रोशीगाउँपालिका–१ खहरेपाँगुको ताङलिङमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटा पुग्दा खुसी भएर मन्त्री पुरिने गरी स्थानीयवासीले माला पहिर्याई दिएका छन्।
‘खहरेपाँगुमा धेरैपटक मन्त्रीहरू आए पनि ताङलिङमा पहिलो पटक मन्त्री आउनुभयो, चेतना माध्यमिक विद्यालय व्यस्थापन समितिका अध्यक्ष अमित लामाले भन्नुभयो–‘मन्त्रीलाई आफ्नै स्थानमा ल्याएर स्थानीयका समस्या र विकासका आवश्यकता सुनाउने अवसर विद्यालयको नवर्निमित भवनले जुराई दियो।’

भौगोलिक हिसाबले नजिक भए पनि विकासले गति लिन नसक्दा दुर्गम बनिरहेको खहरेपाँगुबाट चर्चित व्यक्तिहरू राजधानीमा बसोबास गरिरहेका छन्। सामूहिक विकासका लागि एकताभन्दा पनि टुटफुट र खुट्टा तान्ने प्रवृत्तिका कारण विकासमा धिमेगती भएको अध्यक्ष लामाले बताउनुभयो।

मन्त्री आउनुअघि अध्यक्ष लामाले सबै सरोकारवालासँग अन्तरक्रिया गरेर मात्रै कार्यक्रम टुंगो गरिएकाले सबै राजनीतिक दल, सर्वसाधारणहरूको सहभागिता रहेको जानकारी दिनुभयो। एउटा पक्षले कार्यक्रम आयोजना गर्दा अर्काे पक्षले सधैं वहिष्कार गर्ने चलन लामो समयसम्म रहेको उहाँले बताउनुभयो।

मन्त्री बास्कोटा सहभागी कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू, राप्रपालगायत अन्य राजनीतिक दलका नेताहरूले भव्य स्वागत गरे। ‘विकासका लागि एकताको संस्कृति शुरु भएको छ, पार्टी फरक होला, मुद्दा विकास हो, मन्त्री बास्कोटाले भन्नुभयो– ‘मिल्छ भने तपाईं हामी सबै एउटै पार्टीमा रहेर पनि काम गर्न सक्छौं, म आह्वान गर्न चाहन्छु तपाईहरू सबै नेकपाकै अभियानमा सामेल हुनुुहोस्।’
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष डीबी लामा, कांग्रेस नेता गणेश लामा, राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा, राप्रपाबाट निर्वाचित वडा अध्यक्ष श्रीदास लामा सबैले मन्त्रीको एकतासहितको विकासमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले सरकारले जनताको घरघर पुगेर विकास गर्न शुरु गरेकाले विकासको माग बोकेर मन्त्री र सरकारी निकायमा धाउनु नपर्ने बताउनुभयो। चेतना माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सरकारको एउटै ध्यान विकास भएकाले विकासमार्फत जनतामा समृद्धि ल्याउने खालका आयोजनाहरू सञ्चालन गरिरहेको बताउनुभयो। नागरिकको खुसी, सुख र समृद्धका लागि विकास गर्ने भएकाले जनताको जीवन सुधार्ने एउटै माध्यम शिक्षाको गुणस्तरलाई खस्कन दिन नहुने मन्त्री बास्कोटाको भनाइ थियो।

‘विकासबाहेक अर्काे मुद्दा अब बन्न सक्दैन, मन्त्री बास्कोटाले भन्नुभयो– ‘मुलुक निर्माणका लागि सबै दल, सबै व्यक्तिहरूसँग हातेमालो गर्दै शिक्षामा लगानी बढाएका छौँ।’ शिक्षामा गरिएको लगानीले जीवन सुधार्ने बताउँदै मन्त्री बास्कोटाले खाडी जाने युवाहरूलाई स्वदेशमै रहन सक्ने गरी वातावरण बनाउन सरकार लागेको बताउनुभयो।

शिक्षाको गुणस्तर सुधार्न जिल्लामा एक सय वटा विद्यालयमा कम्प्युटर ल्याब सञ्चालनमा ल्याएको बताउँदै उहाँले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिंचाइ, विद्युत्लगायतका क्षेत्रमा निरन्तर काम भइरहेको जानकारी गराउनुभयो। ‘रोशीको चौकीडाँडादेखि पनौतीसम्मको सडक निर्माणका लागि कार्य भइरहेको छ, अस्पताललगायतका निर्माणका कार्य शुरु भइरको उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले मदन भण्डारी विश्वविद्यालय काभे्रको पाँचखाल र नमोबुद्धमा बन्न लागेको, सुनकोशी तेस्रो जलविद्युत् आयोजना, बहृत खानेपानी आयोजना शुरु भइरहेको जानकारी गराउनुभयो।
६ कोठे र ४ कोठे भवन सुविधा सम्पन्न छन्। चालु शैक्षिक सत्रमा कम्प्युटर ल्याब सञ्चालनमा आएको छ। २ सय ७५ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शिक्षक दरबन्दी अभाव हुँदा पढाइ प्रभावित हुँदै आएको छ।
अध्यक्ष लामाले शिक्षाको गुणस्तर सुर्धान भौतिक पूर्वाधारलगायतका अन्य संरचनाहरू निर्माण भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्