मौलिकता झल्कने सीपहरूको संरक्षण खोइ ?



हाम्रा पुर्खाहरू आफ्नो दैनिक जीवनमा प्रयोग हुने सामानहरू आफैं बनाउँथे। आफूसँग भएका सीपबाट सृजित सामानहरू साटफेर वा बिक्री गर्थे र आवश्यक अन्य सामानहरू खरिद गर्थे। आफूलाई चाहिने सीपको पुस्ता हस्तान्तरण हुन्थ्यो।

बाबुको बिँडो धान्ने यो परम्पराले मानिसहरूलाई सृजनशील बनाउँथ्यो। मौलिक सीपको जगेर्ना पनि हुन्थ्यो। शायद, यो परम्परा विश्वभर नै व्याप्त थियो। मौलिकता संरक्षण, सामाजिक भावना र अपनत्व जोगाउन यस्ता सीपहरूको विशेष महत्व थियो।

उदाहरणको लागि बागलुङ, अमलाचौरका मनबहादुर चुदारहरूलाई नै हेरौँ। उनीहरू हातले ठेकी बनाउँछन्। त्यो ठेकी बेचेर जीवन गुजारा गर्छन्।परम्परागतरूपले बनाइने ठेकीहरू बलिया हुन्छन्। गाउँमै उत्पादित ठेकीहरू वातावरणीय र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिन्छ।

पुर्खाबाट नासोको रूपमा पाएको सीपमा आश्रित केही व्यक्तिहरू भने अहिले पनि मौलिकता धान्दै बसेका छन्। तर दुर्भाग्य, उनीहरूको पेसा यतिबेला संकटमा पर्न थालेको छ।

सस्तोमा पाइने प्लास्टिकका भाँडाहरूको उपयोग बढ्दै जाँदा उनीहरूको ग्राहक घटेका छन्। ग्राहक घट्दा पेसा मात्रै संकटमा परेको छैन, मौलिकता नासिने चिन्तासँगै बेरोजगारीले गाँज्ने संकेत पनि देखाएको छ।

सहजताको नाममा हामीले आफूसँग भएको सीपलाई आफैंभित्र सीमित पार्न थाल्यौँ। आफ्नै वरपरका सामान प्रयोग गरी बनाइने सामानहरूमा पनि अर्काको भर पर्न थालियो। परिणामतः परम्परागत डोको, नाम्लो, डालोहरू पनि प्लास्टिकका आउन थाले।

हामी त्यसलाई उपयोग गर्दै गयौँ। यसले गर्दा हातले चोया काढ्ने, डोको, नाम्लो, दाम्लो, ढकिया बुन्ने, ठेकी बनाउने सीप मात्रै मारेन, गोजीको पैसा बाहिर जान थाल्यो।

आधुनिकताको नाममा आएका यस्ता सामानहरूले वातावरणीय प्रदूषणमा पनि योगदान दिए।हामीले गाउँ–गाउँमा प्लास्टिक पुर्यायौँ, मौलिकता नास्यौँ र परनिर्भरताको यात्रा तय गर्न थाल्यौँ। यो दुर्भाग्यपूर्ण रहेको छ।

परम्परागत पेसा धानेकाहरूलाई, मौलिकताको संरक्षणमा खटिएकाहरूलाई राज्यले उचित संरक्षण गर्नुपर्छ। उनीहरूलाई अनुदानको व्यवस्था, कच्चा पदार्थको उपलब्धता र बजारको व्यवस्था गरिदिनुपर्छ। त्यति मात्र नभएर, त्यही सामान उत्पादनको लागि आवश्यक पर्ने आधुनिक उपकरणको व्यवस्था गर्न पनि राज्य पछि पर्नुहुँदैन। परम्परामा प्रविधि मिसाउँदा सामानहरू आकर्षक हुन्छन्, लागत घट्छ।

जसले गर्दा मौलिक परम्पराको संरक्षण, सीपको पुस्ता हस्तान्तरण र नेपाली संस्कृतिको संरक्षणमा पनि टेवा पुर्याउँछ। प्लास्टिकजन्य पदार्थको उपयोग गर्नु भनेको स्वास्थ्य र वातावणीय दुवै दृष्टिले राम्रो हैन।

अर्कोतर्फ नेपाल आउने पर्यटकहरूलाई हाम्रा मौलिक र परम्परागत भाँडाकुँडा बिक्री वितरण गरी विदेशी मुद्रा कमाउने दिशामा जानु पनि आजको आवश्यकता हो। सामान्य कर्मीले बाह्य बजार खोज्न सक्दैन। आफ्नो जीवन धान्नै नसक्ने भए पेसा छाड्नुको विकल्प पनि हुँदैन।

यो समस्या बागलुङका चुँदारहरूको मात्रै हैन, देशकै हो। अतः राज्यले पहिचान, मौलिकता झल्कने सीपहरूको संरक्षणमा ध्यान पुर्याउनुपर्छ।

– दशरथ निउरे, हटिया, बाग्लुङ।

 

प्रतिक्रिया दिनुहोस्