नेपाली टोपी दिवस मनाईंदै


न्युज अफ नेपाल, काठमाडौं ।

जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमा झैँ यसबर्ष पनि अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाउँदै छ ।

अभियानले बिगत ७ बर्षदेखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आएको हो । यसवर्ष पनि सातौं अन्र्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दैछ । कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ ।

अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । यस संस्थाले योवर्ष नेपाल सरकारको नेपाल भ्रमणवर्ष अभियानलाई सहयोग पुग्नेगरि नेपाली टोपी दिवस मनाउने तयारी गरेको पनि उनले बताए ।

गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र सफल बनाउन सबैलाई अभियान्ताहरुले अनुरोध पनि गरेका छन् ।