रानीपोखरीको पुनःनिर्माण तीब्र गतिमा

28
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ऐतिहासिक रानिपोखरीको पुननिर्माण कार्य तीब्र गतिमा भइरहेको छ।उपभोक्ता समिति र सिएम तुल्सी जेविले सयुंक्त रुपमा पुनःनिर्माणको जिम्मा पाए लगतै काम तीब्र गतिमा अघि बढेको हो।

पोखरी र पर्खालको जिम्मेवारी समितिलाई दिइएको थियो। त्यसका लागि १० करोड रुपैयाँ बजेट विनियोजित गरिएको छ।

पोखरी सफा गरी बालुवा राख्ने र त्यसमाथि इँटाको सोलिङ गरिसकेपछि पोखरीका पानी राख्ने गरी भइरहेको छ।

पोखरीको काम ४२ प्रतिशत सकिएको र पर्खालको काम ८५ प्रतिशत सकिएको समितिका सचिव रोशन तुलाधरले जानकारी दिनुभयो। पोखरीमा राख्नुपर्ने कालोमाटो साँखु, गोकर्ण, भक्तपुर र मध्यपुर ठिमीबाट ल्याइएको पनि उहाँले जानकारी दिनुभयो।

वर्षाको समयमा काम गर्न नसकेकोले पोखरीमा माघको पहिलो हप्ता सम्म पानी हालिने उहाँले जानकारी दिनुभयो। बैशाख मसान्त सम्म सक्ने गरी मन्दिर, पुल र सौन्दर्यताको लागि १५ करोड विनियोजित गरिएको थियो।

हाल पुलको काम ७५ प्रतिशत र मन्दिरको काम दश प्रतिशत सकिएको पुननिर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो। तीन वर्षअघि राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरी पुनःनिर्माणको शिलान्यास गर्नभएको थियो।

परम्परागत शैली र मौलिकता संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न लागिएको हो।प्रताप मल्लले रानीपोखरी बीचमा बालगोपालेश्वर र चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको इतिहास छ।

उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरव मन्दिर, उत्तर–पूर्वी कुनामा भैरव मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको थियो।

मल्लकालीन यो मन्दिरलाई जंगबहादुर राणाले बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण गनुभएको थियो। १९९० सालको भुइँचालोमा मन्दिरको गजुर भत्केपछि जुद्धशम्शेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिनुभएको थियो।

२०७२ को भुइँचालोमा मन्दिर भत्केपछि यसलाई मल्लकालीन ग्रन्थकुट शैलीमा बनाउने कि राणाकालीन गुम्बज शैलीमा भन्ने विवाद भएको थियो।पछि विज्ञहरूको सल्लाहमा प्रताप मल्लको शैलीमा निर्माण कार्य अघि बढाइएको थियो।