विहार लैजाँदै गरेकी कार्कीको उद्धार

नरबलि दिने तयारी गरिएको प्रहरी दाबी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

भारतको विहारमा रहेको एउटा मन्दिरमा नरबलि दिन नेपालबाट एक युवतीलाई भारत लैजाने तयारी गर्दै गरेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

केही समयअघिबाट मोडलिङ पेसामा संलग्न हुँदै आएकी स्वेता कार्कीलाई विभिन्न बहाना बनाएर भारत लैजान लागेको अवस्थामा प्रहरीको टोलीले मोरङको बूढीगंगाबाट पक्राउ गरेको हो।

विहारको एक हिन्दु मन्दिरका बाबाले घाउ चोट नलागेको ६ फिट उचाइ भएकी एक युवतीलाई मन्दिरमा ल्याउन नेपाली एजेन्ट प्रयोग गरेको र उनीहरूलाई मोटो रकम दिने भनेपछि उनीहरूले कार्कीलाई भारतमा मोडलिङ गर्ने भन्दै नेपालबाट भारत लैजाने तयारी गरेका थिए।

प्रहरीले कृष्ण तामाङ, उमेश शाह दिलकुमारी बुढामगर, उमेश माझी, विराटनगरका दिलीप पोद्दार, प्रेमा तामाङ र रञ्जितकुमार चौधरीलाई पक्राउ गरेको छ।

नाम नखुलाइएको विहारका बाबाले भारतीय केही युवालाई नेपालबाट युवती ल्याउन विराटनगर पठाएका थिए। सोही योजनामुताविक केही भारतीय नागरिक विराटनगर आएर दिलीप पोद्दारलाई भेटेर सबै जानकारी गराएका थिए।

पोद्दारले उमेश साह र उमेश माझीलाई उक्त कुरा सुनाएपछि उनीहरूले युवती खोज्न शुरु गरेका थिए। उनीहरूले अन्य अभियुक्तलाई साथ दिएर कार्कीलाई मोडलिङका लागि राम्रो रकमको प्रस्ताव गरी काठमाडौंबाट विराटनगर पुर्याएका थिए।

पोद्दारको योजनाअनुसार मोडल कार्कीलाई शरीरमा घाउचोट नलागेको र ६ फिट अग्लो हुनुपर्ने भन्दै पटकपटक शरीर हेरेर विराटनगर लगिएको थियो। दैनिक १२ हजार रुपियाँ दिने भन्दै प्रेमा तामाङले कार्कीलाई खोजेकी थिइन्।

उनले शुरुमा नेपालमा नै मोडलिङ गर्ने भन्दै कार्कीलाई फकाएपछि भारतमा अझैं राम्रो कमाइ हुने भन्दै भारत जान प्रस्ताव गरेकी थिइन्। पटकपटक शरीर नाप्ने र घाउचोट हेर्न थालेपछि उनलाई शंका लागि परिवारलाई खबर गरेको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट ठूलो रकम बरामदसमेत गरेको छ। अभियुक्तहरूले मंगलबार राती १० बजे भारत लैजाने तयारी गरेको भए पनि प्रहरीले ९ बजे कार्कीसहित ७ अभियुक्तलाई पक्राउ गरेको थियो।

पक्राउ परेका अभियुक्तको बयानका आधारमा प्रहरीले भारतीय र नेपालका अन्य एजेन्टको समेत खोजी गरिरहेको छ।

पक्राउ परेका अभियुक्तहरूले कार्कीलाई विराटनगरको सुविधा सम्पन्न होटलमा नराखेर धर्मशालामा राखेको र त्यहाँबाट सिधै नाम नखुलाइएको मन्दिर लैजाने तयारी गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।