नर्सिङ संघमा प्रगतिशील समूह विजयी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल नर्सिङ संघको १९औं कार्यसमितिको निर्वाचनबाट नेकपा निकटको प्रगतिशील समूहका प्राध्यापक मनकुमारी राईको प्यानल नै विजयी भएको छ।

वर्षौदेखि संघमा वर्चश्व राख्दै आएको प्रगतिशील समूहले यसपटक पनि जित हात पार्दै संयुक्त पेसागत प्यानलका प्रा. मुना राना थापा प्यानललाई नै पराजित गर्दैे बाजी मार्न सफल भएको छ।

प्रा.राईले ३ हजार २ सय ७६ मत ल्याउनु भई अध्यक्ष पदका लागि विजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी प्रा. मुना राना थापाले २ हजार ८५ मत ल्याइ प्रतिपक्षी बन्नुभएको छ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मीना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, खुला सदस्यमा विजया अधिकारी, जनजाति सदस्यमा हरिप्रसाद कोजू विजयी भएका छन्।

त्यस्तै सदस्यमा सोनु शेर्पा, सपना विक, अञ्जुकुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी विजयी भएका छन्। देशभरमा २१ वटा मतदानकेन्द्रबाट बुधबार मतदान भएको थियो। निर्वाचनको परिणाम बिहीबार बिहान मात्र सार्वजनिक गरिएको हो।

नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार हालसम्म झन्डै ९० हजार नर्सहरूले लाइसेन्स लिइसकेको देखिए तापनि संघमा आबद्धता भने ६ गुनाले कमी हुनुलाई संघको जिम्मेवारी र भूमिकालाई नेतृत्व पंक्तिले ध्यान दिन नसकेको र प्रवेश शुल्क धेरै भएको विषयमा चर्चा चलिरहेको छ।