‘कानुनअनुसार नै लिज अवधि बढाइएको हो’

0
Shares

काठमाडौं, (नेस)।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसद्ले बनाएको कानुनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताउनुभएको छ।

मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर नभई संसद्ले बनाएको ऐनअन्तर्गत नै लिज अवधि थप गरिएको बताउनुभएको हो।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रस्टका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले राष्ट्रलाई फाइदा हुने देखिएमा अवधि समाप्त हुनुअघि लिजको अवधि थप गर्न सक्ने कानुनको व्यवस्था रहेको दाबी गर्नुभयो।

उहाँले कौडीको दाममा दिइयो भन्ने दाबी अस्वीकार गर्दै ‘फेयर मार्केट भ्यालु’ का आधारमा भाडादर तोकिएको बताउनुभयो।