मेलम्चीको काम ३ महिनामा आधा

0
Shares

काठमाडौं, (नेस)।

बहुचर्चित तथा बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनामा चिनियाँ ठेकेदार कम्पनीले छोटो समयमै प्रगतिमुखी काम गरिरहेको छ।

मेलम्ची खानेपानी आयोजनामा बाँकी रहेको काम सम्पन्न गर्न नियुक्त गरेको चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोले तीन महिनाको अन्तरमा आयोजनाको आधा काम सम्पन्न गरेको छ।

मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँकी काम सम्पन्न गर्न तीन महिनाअघि मात्रै दुई प्याकेजमा चिनियाँ कम्पनीलाई छनोट गरी ठेक्का सम्झौता गरेको हो।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले ठेक्का सम्झौताभएर ठेकेदार कम्पनी काममा लागेको तीन महिनामा उत्साहजनक काम भएको जानकारी दिनुभयो। ‘अहिलेसम्म आयोजनाको बाँकी गर्नुपर्ने काममध्ये ४० प्रतिशत सम्पन्न भइसकेको अबस्था छ।

यो छोटो समयमा भएको उत्साहजनक उपलब्धि पनि हो’ –उहाँले भन्नुभयो। अहिले मेलम्चीको बाँकी रहेका काम विनाअवरोध धमाधम भइरहेको उहाँको दाबी छ।

मेलम्चीको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले अन्तिम चरणमा आइपुगेर छोडेर भागेपछि बाँकी रहेको काम सम्पन्न गर्न सुरुङको र मुहान (हेडवक्र्स) गरी दुई प्याकेजमा ठेक्का लगाएको थियो।

अहिले त्यही ठेक्काअनुसार बाँकी रहेको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ। सीएमसीले सुरुङको काम करिब १ किमि ढलान र सपोर्टको काम छोडेको थियो भने मुहान (हेडवक्र्स) निर्माणको काम शुरु नै नभई बाँकी राखेको थियो।

सुन्दरीजल, अम्बाथान र ग्लाल्थुममा सुरुङको फाइनल सपोर्टको काम भइरहेको छ। यो अन्तिम चरणमा पुगेको सीडीई पन्तले बताउनुभयो। कम्पनीले सुरुङको १२ महिनाभित्र र हेडवक्र्सको काम १५ महिनाभित्र सम्पन्न गर्न लक्ष्य तय गरी काम गरिरहेको छ।

समितिले चिनियाँ कम्पनी सिनोहाइड्रोसँग हेडवक्र्सको काम गर्न अक्टोबर ११ मा र सुरुङको बाँकी काम सम्पन्न गर्न सेप्टेम्बर २९ मा सम्झौता भएको थियो। हेडवक्र्सको निर्माणका लागि अहिले बाँध बाँध्ने काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार अहिले टनेल थुन्न गेटहरू निर्माणको काम पनि धमाधम भइरहेको छ। त्यस्तै तीनओटा भेन्टिलेसन साफ्ट (सुरुङको हावा फाल्न) निर्माणका लागि ड्रिल गर्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

२७ किलोमिटर लामो सुरुङमार्ग हुँदै काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी दैनिक खुवाउने योजनास्वरुप तीव्र गतिमा मेलम्चीको बाँकी रहेको काम भइरहेको आयोजनाको दाबी रहेको छ।