शुरू भयो ‘सामी’ परियोजना

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे।

वैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमूलक बनाउन शुरु भएको सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यान्वयनका लागि सेवा प्रदायक संस्था र कार्यक्रम कार्यान्वयन हुने स्थानीय तहबीच सम्झौता भएको छ।

काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल, मण्डन देउपुर नगरपालिका, भुम्लु र रोशी गाउँपालिकामा उक्त कार्यक्रम लागू हुनेछ। सोही स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने गरी जिल्लामा रहेको दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम)ले अनुमति प्राप्त गरेको छ। कार्यक्रम सञ्चालनका लागि भएको प्रतिस्पर्धामा सिविक फोरमले उच्च नम्बर प्राप्त गरी छनौट भएको थियो।

बुधबार साझेदार संस्था र स्थानीय तह बीच सम्झौता भएको हो। धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक व्याञ्जु, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्ताैला, प्रमुख प्रशासकीय प्रमुखहरू तारानाथ लुईंटेल, प्रणराज न्यौपाने, डम्बरु दाहाल, मदन बजगार्इं र साझेदार संस्थाका कार्यकारी निर्देशक बसन्त कुँवरलगायतले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सोही कार्यक्रममा सहभागीहरूले कार्यक्रम कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूका लागि जुन देशमा जाने हो त्यही देशको कामअनुसारको सिपमूलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमूलक बनाउने परियोजनाको उद्देश्य रहेको छ। स्विजरल्यान्ड र नेपाल सरकारबीच भएको सम्झौताअनुसार तेस्रो चरणमा ३९ वटा जिल्लाका १ सय ५६ वटा स्थानीय तहमा उक्त कार्यक्रम लागू हुनेछ। १६ सेप्टेम्बर २०१८ बाट शुरु भएको उक्त कार्यक्रमको तेस्रो चरण २०२२ जुलाईसम्म सञ्चालन हुनेछ।

नेपाली कामदार र तिनका परिवारलाई सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका बारेमा जानकारी गराइनेछ। उक्त परियोजनामार्फत वैदेशिक रोजगारमा जान चाहनेहरूलाई १० वटा तालिम केन्द्रमार्फत सीप उपलब्ध गराइनेछ।

तालिम लिनेहरूका लागि निःशुल्क तालिमका साथै खान र बस्ने व्यवस्था हुनेछ। कार्यक्रम लागु भएका जिल्लाका स्थानीय तहमा ५ हजार ७ सय व्यक्तिलाई सीपयुक्त तालिम, सूचनामा पहुँच ९ लाख, १५ हजारलाई न्यायमा पहुँच, ५४ हजार ३ सयलाई मनोसामाजिक परामर्श र ४६ हजारलाई वित्तिय साक्षरता उपलब्ध गराइनेछ।

सम्झौतामा परियोजनाका तर्फबाट हेल्भेटासका परियोजना संयोजक तरुणकान्त अधिकारी, सामी परियोजनाका कमल रोकाया, धुलिखेल नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतमलगायतको सहभागिता रहेको थियो।