‘विमान दुर्घटना’ को खबर दिइएपछि …


न्युज अफ नेपाल, हेटौंडा ।
स्थानीयले ‘विमान दुर्घटना’ भएको खबर दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीलाई तत्काल घटनास्थलमा पठाउनुभयो ।

स्थानीयले फोनमार्फत् प्रहरीलाई यसबारे लगातार ‘जानकारी’ गराए । हेलिकोप्टर दुर्घटनाको आशंकापछि तत्काल प्रहरी त्यसतर्फ परिचालित भयो । प्रहरीमात्र कहाँ हो र, सेनाले पनि धुँवाको मुस्लो देखिएपछि फास्टट्रयाकको लेनडाँडामा रहेको सैनिक पोष्टबाट एउटा टोली सर्च अपरेसनमा खटायो ।

मकवानपुरगढीको सुकौरा र बकैया–१२ को ठिंगन सीमामा दुर्घटना भएको आशंका गाउँलेले गरेका थिए । स्थानीयले दुर्घटनाको अनुमान गरेपछि नजिकका प्रहरी चौकीहरु चौघडा र ठिंगनबाट उक्त स्थानतर्फ प्रहरी पुग्यो ।

बतासेडाँडामा स्थानीयको जाने क्रम बढ्दै गयो । शिवम् सिमेन्टको खानी क्षेत्रमा पर्ने डाँडाको खोंचबाट धुँवाको मुस्लो आएपछि स्थानीय त्यसतर्फ गएका थिए । सुकौराबाट घटनास्थल भनिएको क्षेत्र करिब दुई घण्टा दुर्गममा पर्दछ ।

मकवानपुरगढी, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाको सीमामा रहेको बतासेडाँडाको खोंचमा स्थानीयले बुधबार विहान धुँवाको फरकढंगको मुस्लो देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेका थिए । विहान करिब १० बजे आगोको मुस्लो देखिएको थियो ।

प्रहरी र स्थानीय उक्त स्थान पुग्दा पो थाहा भयो कि त्यहाँ डँढेलो लागेको रहेछ । उक्त स्थानमा पुगेको प्रहरीले यसको पुष्टि गरेपछि प्रहरी उपरीक्षक सिंहले भन्नुभयो–विहानदेखि तीन घण्टा प्रहरी र स्थानीयले निकै मेहनत गर्नुप¥यो । उक्त स्थान मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ को बतासेडाँडा हो ।

करिब दुई घण्टा पैदल यात्रापछि मकवानपुरको बकैया गाउँपालिका–१२ र मकवानपुरगढी गाउँपालिका–७ को सिमानामा रहेको बतासेडाँडामा पुगेका स्थानीय नेत्र कार्कीले मकवानपुर प्रहरी उपरीक्षक सिंहलाई फोन सम्पर्क गरी दुर्घटना नभएको र बनमा डँढेलो लागेको जानकारी दिनुभएको थियो ।

‘स्थानीयको आशंकाकै भरमा दुर्घटनाको हल्ला फैलियो,’ प्रहरी उपरीक्षक सिंहले भन्नुभयो–आखिर डँढेलो लागेको पुष्टि भयो । उक्त क्षेत्रमा गोठाला गएकाहरुले आगो ताप्न बालेको आगोबाट डँढेलो फैलिएको अनुमान छ ।

स्थानीयले ठूलो आवाजसँगै धँुवाको मुस्लो आएको भने पनि डँढेलो लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । अप्रत्याशितरुपमा आगोको मुस्लो देखिनु र उक्त क्षेत्र विमानको रुटसमेत भएकाले स्थानीयले दुर्घटनाको आशंका गरेको हुनसक्ने उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक सिंहका अनुसार त्रिभुवन विमानस्थलसँग जानकारी लिँदा विमान वा हेलिकोप्टरले नियमित उडान भरिरहेको बताएको छ ।

२०६७ भदौ ८ गते विहान करिब ७ः३० बजे अग्नि एयर सोही क्षेत्रमा दुर्घटनामा परेको थियो । अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा १४ जनाको ज्यान गएको थियो । जहाँ हरेक भदौ ८ गते विशेष पूजा गर्ने गरिएको छ ।

बस्तीपुरको बकिया ठाकुर निम्न माध्यमिक विद्यालयनजिक जहाज दुर्घटनामा परेको थियो । बकिया ठाकुरलाई सहयोगका निम्ति फाउण्डेसन खडा गरिएको थियो, जसले हाल देशभर आफ्नो सहयोग बिस्तार गरेको छ । विद्यालयको खेतमा निर्मित स्तुपमा राखिएको ताम्रपत्रमा सबै १४ मृतकको नामावली समावेश छ ।