५८ बुँदे सुझाव कार्यान्वयन गर्न शेयर लगानीकर्ताको जोड



नेपाल समाचारपत्र, काठमाडौं।

शेयर बजारमा आएको समस्याको पहिचान गर्न र बजार सुधारका बारेमा अध्ययन गर्नका संघीय संसद्को अर्थ समितिले तदारूकता देखाएको छ। मंगलबार अर्थ समितिले विभिन्न लगानीकर्ताका संगठनसँग छलफल गरी लिखित सुझाव माग गरेको छ।

अर्थ समितिले मंगलबार तीन वटा लगानीकर्ता संगठनका प्रतिनिधिसँग छलफल गरेको थियो। अर्थ समितिसँगको छलफलमा नेपाल पुँजी बजार लगानीकर्ता संघ, नेपाल इन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघका प्रतिनिधिहरू सहभागी भएका थिए।

छलफलका क्रममा समितिले मुद्रा तथा पुँजी बजार सुधारका ५८ बुँदे सुझावको कार्यान्वयनका लागि सहभागी प्रतिनिधिसँग लिखित सुझाव माग गरेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेपाल समाचारपत्रसँग बताउनुभयो।

उहाँका अनुसार, प्रतिनिधिले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयलाई अगाडि बढाउन सुझाव दिएका थिए। यस्तै बैंकको ब्याजदर घटाउनेतर्फ पहल गर्नका साथै भारित औसत गणना विधिको समस्या यथाशीघ्र हटाउन अर्थ समितिलाई सुझाव दिएका थिए।

नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वमा एकवर्ष अघि गठित कार्यलदले अर्थमन्त्री डा. युवराज खतिवडालाई ५८ बुँदे सुझाव प्रतिवेदन पेस गरेको थियो। सो प्रतिवेदनलाई तदारूकताका साथ कार्यान्वयनमा ल्याए पुँजी बजारको अधिकांश समस्या हल हुने लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले बताउनुभयो।

उहाँले भन्नुभयो–‘हामीले दिएको ५८ बुँदे सुझाव कार्यान्वयनमा ल्याए सबै समस्या समाधान हुन्छ, आजको बैठकमा हामीले त्यही सुझावलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन समितिको ध्यानाकर्षण गरायौं।’

छलफलका क्रममा उपसमितिकी संयोजक रामकुमारी झांँक्रीले पुँजीबजारको समस्या समाधान गर्न सरकार मात्र लाग्नुपर्ने नभई लगानीकर्ता स्वयम् पनि लाग्नुपर्ने धारणा राख्नुभएको थियो।

छलफलमा संयोजक झाँक्रीले लगानीकर्तालाई सधैं अनसन, आन्दोलन तथा राजीनामा मागेर मात्रै शेयर बजारको समस्या सामाधान हुन्छ ? भनेर प्रश्न समेत गर्नुभयो।’

प्रतिक्रिया दिनुहोस्