जिप्रका गोरखाको नयाँ भवन बन्दै



नेपाल समाचारपत्र, गोरखा।

पुनर्निर्माणका लागि जिल्ला प्रहरी कार्यालय गोरखाको पुरानो भवन भत्काउन शुरू गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुबिधा सम्पन्न नयाँ भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै निर्माणको काम थालिएको हो।

‘भ्याटसहित ८ करोड १ लाख रुपियाँमा रोयल कन्स्ट्रक्सनले भवन बनाउने जिम्मा पाएको छ, जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम अधिकारीले भन्नुभयो– ‘कार्यालय भवन, हिरासत, ब्यारेक, कार्यालय प्रमुखको निवास र खाना खाने ठाउँ (मेस) सहितको संरचना निर्माण हुनेछ।’

‘नयाँ बन्ने भवन सुविधा सम्पन्न हुनेछ,’ एसपी अधिकारीले भन्नुभयो– ‘एक वर्षभित्र निर्माण पूरा हुने गरी पुस ४ गते सम्झौता भएको हो।’ सम्झौतापश्चात निर्माण कम्पनीले काम थालिसकेको छ। अहिले ब्यारेक भवन भत्काउने काम शुरू भइसकेको छ।

नयाँ भवन निर्माण हुने भएपछि निर्माण पूरा नहुँदासम्म दैनिक कामकाज र बस्ने, खाने ठाउँको भने प्रहरीलाई समस्या हुने भएको छ।जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ सय ५० जनालाई बस्न, खान समस्या हुने भएको हो।

जिल्ला समन्वय समितिको भवन वा अन्य कुनै घर खोजेर व्यवस्थापन गर्ने योजना रहेको एसपी अधिकारीले बताउनुभयो। ‘एकै पटक सबै संरचना भत्काएरसँगै निर्माण गर्नु पर्ने भएकाले व्यवस्थापनमा असजिलो भएको छ, अधिकारीले भन्नुभयो– ‘कार्यलयबाट सेवा दिने र नजिकका अन्य सरकारी कार्यालयसँग सहयोग लिएर व्यवस्थापन गरिने छ।’

प्रतिक्रिया दिनुहोस्