बुटवल उपमहानगरपालिकाद्धारा अव्यवस्थित जग्गाको तथ्याङ्क संकलन सुरु


यमलाल भुसाल, बुटवल ।
बुटवल उपमहानगरपालिकाले नगरमा रहेको अव्यवस्थित बसोबासीहरुले प्रयोग गरेको जग्गाको तथ्याङक संकलनको काम सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ११ देविनगरबाट सुकुम्बासी तथा सार्वजनिक जग्गाको मंगलवार देखि तथ्याङ्क संकलन सुरु गरेको होे ।

नगरको प्रथम बैठकबाट पारित योजना अनुसार अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिले तथ्याङ्क संकलनको लागि नापजाँचको काम सुरु गरेको हो ।

पहिलो चरणमा वडा नम्बर ११ देविनगरको ८० विगाह जग्गाको तथ्याङ्क संकलन गरिने वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनु भयो ।
जग्गाको तथ्याङ्क संकलनका लागि नगरले ११ लाख ९२ हजार बढी बजेट विनियोजन गरी बुटवलको क्रियसन एजुकेश्नल कन्स्ट्रक्सन् लिमिटेसँग सम्झौता गरिएको उहाँले बताउनु भयो ।

तथ्याङ्क संकलनको मँगलबार औपचारिक रुपमा सुभारम्भ भएको घोषणा गर्दै उप महानगरका मेयर शिवराज सुवेदीले सबैमा सहयोगको अपेक्षा गर्नु भयो ।
तथ्याङ्क संकलनलाई विवाद रहित र न्यायपूर्ण बनाउनका लागि सामाजिक संघ ,संस्था, नागरिक समाज तथा जनप्रतिनीधीहरुलाई समेत आग्रह गर्नु भयो । पहिलो चणको नापी सुरु भएलगत्तै दोस्रो चरणको नापी पनि सुरु हुने उहाँले बताउनु भयो । नगरका सबै सुकुम्बासी तथा सार्वजनिक जग्गाको तथ्याङ्क संकलन गरिने भएको छ ।

देविनगर चोकबाट सुरु भएको पहिलो चरणको तथ्याङ्क संकलनको काम रङ्गशालासम्म हुने छ ।
वैशाखसम्म तथ्याङ्क संकलनको काम सकिसक्नु पर्ने भएपनि एक डेढ महिना भित्रै सबै काम सकिने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
नगरभित्र कूल १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेकोमा वडा नम्बर ११ देविनगरमा सबैभन्दा बढी ६ हजार ५ सय घर–धुरी रहेका छन् ।
नापी अवधिभर तथा नापी भइसकेपछि खाली जग्गामा संरचना नबनाउन तथा बिक्रि वितरण नगर्न यसअघि नै सुचना जारी गरिएको वडा अध्यक्ष क्षेत्रीले बताउनुयो ।

नापीका क्रममा रङ्गशाला मार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिने छ भने त्यसभन्दा तलका मार्गहरुमा हाल रहेका बाटोको चौडाईअनुसार नै रहनेगरी तथ्याङ्क संकलन गरिने छ ।

विस्थापितको अवस्था हेरिकन वास्तविक सुकुम्बासी र विपन्न वर्गहरुलाई अन्यत्र पुनःबास गराइने छ ।
तथ्याङ्क संकलनका क्रममा उत्पन्न हुनसक्ने विवाद तथा समस्या समाधानका लागि राजेन्द्र ढकालको संयोजकत्वमा वडा स्तरिय सहयोग समिति गठन गरिएको छ ।