नगरवासीलाई अनुदानमा विद्युतीय चुल्हो

0
Shares

इलाम, (नेस)।

इलाम नगरपालिकाले नगरवासीलाई इन्डक्सन (विद्युतीय चुल्हो) अनुदानमा वितरण गर्ने भएको छ। नगर कार्यपालिकाले ग्याँसको आयात प्रतिस्थापन गरी विद्युत खपतको बृद्धि गर्नका साथै काठ, दाउराको उपयोगमा कम गराइ वातावरण संरक्षण गर्ने उद्देश्यका साथ विद्युतीय चुल्होमा अनुदान दिने भएको हो।

चुल्होमा ७५ प्रतिशत अनुदान दिने नगर कार्यपालिकाले निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले राष्ट्रिय ग्रामीण तथा नविकरणीय कार्यक्रम अन्र्तगत नगरका गृहिणी महिलाहरूलाई चुल्होको प्रयोग सम्बन्धमा चेतना अभिबृद्धिका लागिसमेत अभिमुखीकरण तालिमसमेत दिने निर्णय गरेको छ।

उक्त निर्णयको नगरवासीले स्वागत गर्दै सकरात्मक पहल भएको बताएका छन्। पछिल्लो समयमा ग्रामीण र सहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग बढिरहेको छ। अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलनेलगायतका कारणले विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ।