प्राधिकरणको नयाँ काम : खोपासीमा सबस्टेसन बिजुली जिल्लामै खपत हुने



मोतीराम तिमल्सिना, काभ्रे।

पनौती नगरपालिका खोपासीमा रहेको नेपालकै दोस्रो जलविद्युतबाट उत्पादन हुने बिजुली जिल्लामै खपत हुने गरी पूर्वाधार निर्माण कार्य शुरु भएको छ। खोपासीमा बन्ने सबस्टेशन पछि त्यहाँ उत्पादन भएको बिजुली जिल्लामै खपत गरिनेछ।

काभ्रेको २८ किलोमा रहेको सबस्टेशनले जिल्लाका विभिन्न स्थानमा विद्युत सप्लाई हँुदै आएको थियो। जिल्लामा ६६ केभीको सप्लाई हुँदा कतै तार चुड्दा १८ घण्टासम्म विजुली बत्ति प्रयोगमा आउन सकेको थिएन।

जिल्लावासीलाई अँध्यारोबाट मुक्त गर्न त्यसको वैकल्पिक व्यवस्थाका लागि विद्युत प्राधिकरण काभ्रे शाखाले पनौतीको खोपासीमा सबस्टेशन राख्ने प्रस्ताव गरेको थियो।

सोही प्रस्ताव अनुसार विद्युत प्राधिकरणले उक्त क्षेत्रमा सबस्टेशन निर्माण गर्ने गरी बजेट विनियोजन गरेको विद्युत प्राधिकरण काभ्रे शाखाका प्रमुख रन्जनराज गुरुङले बताउनुभयो। पनौतीको खोपासीमा बन्ने उक्त सबस्टेशनमा ३ एमभीएको ३३÷११ केभीको सप्लाइका लागि आवश्यक पुर्वाधार निर्माण हुनेछ।

नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाले आक्रामक शैलीमा विद्युत चुहावट नियन्त्रण, मर्मत सम्भारको कार्य गरिरहेको छ। कार्यालय प्रमुख रन्जनराज गुरुङले बक्यौता असुल, चोरी नियन्त्रण, मक्किएका पोलहरूको मर्मतलगायतका कार्यहरू निरन्तर गरिरहेको बताउनुभयो।

चुहावट नियन्त्रण टोलीले बेथानचोकलगायत विभिन्न स्थानहरूमा छड्के चेकजाँच गर्ने क्रममा दुग्ध तथा तरकारी सहकारी संस्था, घर आदिबाट चुहावट गरेका विभिन्न ग्राहकहरूबाट चोरीमा प्रयोग गरिएका सामानहरू बरामद गरेको छ।

त्यस्तै धुलिखेल–२ रविओपीलगायत विभिन्न स्थानहरूमा नियमित छड्के चेकजाँच गर्दा बिजुली अनाधिकृत रूपमा चोरी गरिरहेको विद्युतीय सामाग्रीहरू जफत गरिएको छ। त्यसैगरी अन्य ग्राहकहरूलाई चेतावनी दिने र हुकिङ गरी घरमा जडान गरिएका तारहरू हटाइएको छ।

प्रतिक्रिया दिनुहोस्