सामाजिक सुरक्षा ऐन संशोधन गरिने

0
Shares

काठमाडौं, (नेस)।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निजी क्षेत्रले आनाकानी गरेपछि सरकारले ऐन नै संशोधन गर्ने तयारी गरेको छ। आइतबार समृद्धि फाउण्डेशनद्वारा आयोजित कोषको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सबै क्षेत्र समेट्ने गरी श्रमिक अनुकुल ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो।

ऐनमा निजी क्ष्ँेत्रको चरम असन्तुष्टि देखिएपछि ऐन संशोधन गरी श्रमिक अनुकुल बनाउन लागेको बताउँदै उहाँले भन्नुभयो– ‘निजी क्षेत्रका धेरै संघसंस्थालाई कोषमा गरिएका केही व्यवस्थाले आबद्ध हुन व्यवहारीक कठिनाई भएको पायौं, अवकास पाउने उमेरको हद र बीमासम्बन्धी व्यवस्थालाई परिवर्तन गर्न कोषले वास्तविक मूल्यांकन गर्दैछौं।’

कार्यक्रममा बोल्दै उहाँले त्यसपछि कोषमा व्यवस्था गरिएको अवकास नीति, बीमा र कर सम्बन्धी व्यवस्थालाई संशोधन गरिनेसमेत उल्ल्ेख गर्नुभयो। कोषमा आबद्ध भएकालाई स्वास्थ्य तथा मातृत्व बीमा, दुर्घटना बीमा, योगदानकर्तालाई पेन्सन र मृत्युपछि आश्रित परिवारलाई पेन्सन योजनाको दायरामा परिवर्तन गर्दै निजी क्षेत्रका सबै संगठन, ठूला र साना तथा मझौला उद्योगका कर्मचारी श्रमिक सहजै कोषमा आवद्ध हुने गरी व्यवस्था गरिने उहाँको भनाइ छ।

कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्य तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष रमेश अग्रवालले कोषले निजी क्षेत्रका सबै रोजगार प्रतिष्ठानलाई आवद्ध गराउनतर्फ अग्रसर हुनु भन्दा पनि क्रमिकरुपमा कोषमा आबद्धता हुने नियम बनाउन आवश्यक भएको बताउनुभयो।