टेलिफोन नम्बर थाहा पाउन १९७ मा फोन गर्नु नपर्ने

0
Shares

नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ। थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरू पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको हो।

नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो। यसका लागि कम्पनीको वेबसाइटमा लगअन गर्नुपर्छ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ। त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिस्टम सञ्चालनमा रहेको थियो। हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो।

कम्पनीका डाटा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको हो।