स्वावलम्बन विकास केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

0
Shares

काठमाडौं, (नेस)।

स्वावलम्बन विकास केन्द्रको २८औं वार्षिक साधारण सभा केन्द्रका संस्थापक एवम् प्रबन्ध समितिका अध्यक्ष शंकरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो।

उक्त साधारण सभामा आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षण प्रतिवेदनसहितको २०७६ असार मसान्तको वासलात, आव २०७५/७६ को आम्दानी तथा खर्चको वित्तीय विवरण र आव २०७६/७७ को कार्यक्रम तथा रणनीति स्वीकृत भएको छ।

केन्द्रको आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन पेस गर्दै अध्यक्ष श्रेष्ठले हालको स्थितिमा केन्द्रले लघुवित्त संस्थाको क्षमता विकास तालिम, सेमिनार आदिको प्याकेज तर्जुमा गरी कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो।

उहाँले २०७५/७६ मा २० वटा तालिम, ५ वटा कार्यशाला गोष्ठी, १० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन भ्रमण गरी जम्मा ३५ वटा कार्यक्रम वाट जम्मा १४६४ जना लघुवित्तका पदाधिकारी, कर्मचारी र ग्राहक सदस्यहरु लाभान्वित भएको जानकारी दिनुभयो।

केन्द्रले निकट भविष्यमा केन्द्रको सदस्यको सहभागितामा लघुवित्तको ग्राहक सदस्यको छोराछोरीलाई विदेश पलायन हुन नपर्ने गरी स्वरोजगार तालिम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।

यसैगरी हाल बंगलादेशको प्रोफेसर मोहम्द युनुसले प्रतिपादन गरेको सामाजिक व्यवसाय प्रवद्धन अभियानमा नेपालमा पनि पहल गर्ने ‘युनुस सामाजिक व्यवसाय केन्द्र’ स्थापना गर्ने निर्णय पनि पारित गरेको छ।

सभाले लघुवित्त क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिआउनु भएको लघुवित्त अभियान कर्ता शंकर मान श्रेष्ठको नाममा लघुवित्त मार्फत विपन्न समुदायको समाजिक तथा आर्थिक उन्नतिमा उत्कृष्ट योगदान दिने संस्था वा व्यक्तिलाई हरेक वर्ष एक लाख रुपियाँको शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

सोको लागि एउटा अक्षय कोषको स्थापना गर्ने र सो कोषमा श्रीमती शान्ति श्रेष्ठले १० लाख, स्वावलम्बन विकास केन्द्रले १० लाख र लुमिन कुमार श्रेष्ठले ५ लाख रुपियाँ प्रदान गर्ने भएका छन्।