काठमाडौं, (नेस)।
नेपाल उद्योग परिसंघले राजस्व प्रणालीको संरचनागत प्रणालीमा सुधार गर्दैै कर तथा राजस्वलाई उद्योग–व्यवसायमैत्री बनाउने र अहिले देखिएका व्यवहारिक समस्या समाधानका लागि नीतिगत पहल गर्ने विषयमा राजस्व सचिव शिशिरकुमार ढुंगाना तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख धनिराम शर्मासँगको छलफल गरेको छ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगलाई थप लगानीका लागि उत्प्ररित गर्न आश्यक वातावरण बनाउन आग्रह गर्नुभयो।
अध्यक्ष मोरले भन्नुभयो–‘मूल्य अभिवृद्धिका आधारमा सबै किसिमका निर्यातयोग्य वस्तुलाई नगद अनुदान व्यवस्था गरिए अहिलेको निर्यात वृद्धिमा गुणात्मक प्रभाव पर्ने छ।
साथै कर्पोरेट करको दरमा पुनरावलोकन गर्न तथा प्रत्यक्ष करका दरको भारलाई कम गर्ने समय आएकोमा पनि अध्यक्ष मोरले ध्यानाकर्षण गराउनुभयो।
राजस्व सचिव शिशिरकुमार ढुंगानाले राजस्व नीति र राजस्व प्रशासनलाई लगानीमैत्री बनाउदै औद्योगिकरण, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनालाई मुख्य आधार बनाउँदै अघि बढेको बताउनुभयो।
कर्पोरेट करका दरलाई विस्तारै कम गर्दैै लैजाने, कच्चा पदार्थको आयातमा लाग्ने करको दरलाई तहगत रूपमा घटाउने तथा निर्यात वापतको कर अनुदानको दायरालाई फराकिलो पार्दै लैजान आवश्यक तयारी भइरहेकोमा आश्वस्त रहन आग्रह गर्नुभयो।
यसैगरी राजस्व व्यवस्थापन महाशाखा प्रमुख धनिराम शर्माले पनि कर प्रशासनमा सुधारलाई गति दिने तथा राजस्व नीतिमा सुधारका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो।
प्रतिक्रिया