रसुवागढी जलविद्युत् आयोजनाको ७१ प्रतिशत काम सम्पन्न

0
Shares

रसुवा, (नेस)।

रसुवागढी जलविद्युत् आयोजनाको ७१ प्रतिशत काम सम्पन्न भएको छ। आयोजना प्रमुख छवि गैह्रेले सन् २०२० फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो।

रसुवागढी मुनी बाँध बाध्ने, डिसेन्ड पोखरी, बालुवा थिग्य्राउने पोखरी, विद्युत् गृह निर्माणको काम अगाडि बढेको छ। चार हजार एक सय ८५ मिटरको हेड रेस सुरुङ भने गत वर्षमा निर्माण सम्पन्न भइसकेको छ।

चार वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढाइएको थियो। रसुवागढीमा अवरोध तथा भुकम्पको असर लगायतका कारणले निर्धारित समयमा निर्माण सम्पन्न पूरा नहुने भएको छ।

आयोजनाको निर्माण लागत १३ अर्ब ६१ करोड ४० लाख रहेको छ। सुरुङभित्र पानी पठाउन एउटा बाँध रहने छ भने विद्युत् गृह, बालुवा थिग्य्राउने पोखरी भुमिगत रहने छन्।

सो आयोजनाबाट वार्षिक ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुनेछ।टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहने विद्युत् गृहमा तीन वटा फ्रान्सिस टर्वाइन जडान गर्ने काम पनि भइरहेको छ।