भारतमा प्रदर्शन जारी दिल्लीमा टेलिफोन र इन्टरनेट सेवा बन्द

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

भारतमा प्रधामन्त्री नरेन्द्र मोदीको सरकारले नागरिकतासम्बन्धी हालै ल्याइएको नयाँ कानूनको विरोधमा बिहीबार देशव्यापी विशाल प्रदर्शन भएको छ। विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गर्दै आए पनि प्रदर्शन भने झनै चर्कदै गएको छ।

दिल्लीको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै लालकिल्ला क्षेत्र र पुर्वोत्तर दिल्लीका केही भागमा निषेधाज्ञा तथा दिल्लीको मेट्रो रेल स्टेसनमा सर्वसाधारणलाई आवतजावत गर्न निषेध गरिएको थियो। प्रदर्शनकारीले जन्तरमन्तरमा भेला भएर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन््।

प्रदर्शनमा विभिन्न विश्वविद्यालयका विद्यार्र्थी र विभिन्न राजनीतिक दलका समर्थकको सहभागीता रहेको थियो। दिल्लीलगायत देशभरि प्रदर्शनकारीले राष्ट्रिय नागरिकता दर्ता ‘एनआरसी’ तथा नागरिकता संशोधन कानून ‘सीएए’ को विरोधमा आन्दोलन चर्काउँदै लगेका हुन्।

भारत सरकारले अफगानिस्तान, पाकिस्तान र बंगलादेशका गैरकानूनी गैरमुस्लिम अर्थात ‘हिन्दू’ आप्रवासीलाई नागरिकता दिने विद्येयक पारित गरेको छ। सो विद्येयक पारित भएलगत्तै सिंगो भारत विभाजित हुन पुगेको हो ।

भारतीय मुस्लिम समुदाय र केही राजनीतिक दलहरुले आन्दोलनको नेतृत्व गरिरहेका छन्।दिल्लीमा भएको विरोध प्रदर्शनमा प्रमुख विपक्षी कांग्रेस पार्टीका नेता सन्दीप दीक्षित, स्वराज अभियानका नेता योगेन्द्र यादव तथा भारतीय कम्युनिस्ट पार्र्टीका नेता सीताराम यचुरी, डी. राजा, निलोत्पाल बसु, ब्रिन्दा करातलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए।

प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा पहिलोपटक टेलिफोन सेवा बन्द गरिएको छ। मोबाइल सेवा, इन्टरनेट सेवासमेत बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

यसै विरोधमा प्रदर्शनमा उत्रिएका चर्चित भारतीय इतिहासकार तथा सरकारका खरो आलोचक रामचन्द्र गुहा पनि पक्राउ परेका छन्। ६१ वर्र्षीय गुहालाई प्रहरीले दक्षिणी बैंगलोरबाट गिरफ्तार गरेको हो।

एउटा स्थानीय टेलिभिजनसँग नागरिकता कानूनबारे बोल्दै गर्दा उनी पक्राउ परेका थिए। प्रहरीले सरकारी निषेधाज्ञा तोड्दै सडकमा ओर्लेका हजारौं संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

सरकारले एकै ठाउँमा चारजना व्यक्तिभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको थियो। उत्तर प्रदेशको राजधानी लखनउमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको तथा नगर बसहरुमा आगजनी गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्।