एनआरएनए किन चाहियो ?


नेपालमा राजनीतिक परिवर्तनसँगै पछिल्लो वर्षमा विदेशिने नेपालीको संख्या दिन–प्रतिदिन बढेको छ। दक्षिण कोरिया, मलेसिया, खाडीलगायतका मुलुकहरूमा वैदशिक रोजगारीको सिलसिलामा पुगेका नेपालीहरूले दुःख–अपहेलना पाएका घटना त छँदैछन्, त्यो भन्दा ठूलो अपहेलना–अपमान युरोप, अमेरिका, अस्ट्रेलिया, जापानजस्ता विकासित भन्ने देशहरूमा नेपालीहरूमाथि हुँदै आएको छ।

विकसित भन्ने देशहरूका नागरिकले नेपालीहरूलाई सामाजिकरूपमा अपमान, बहिष्कार गरेका छन्।पछिल्लो १२–१५ वर्षयता विश्वभर आप्रवासीहरूलाई हेर्ने नजर बदलिएको छ। पहिला नेपाल, नेपाली भनेपछि ती देशका नागरिकले धेरै जिज्ञासा राख्थे, भेट्दा खुशी हुन्थे तर अहिले त्यस्तो छैन। त्यो अमेरिका होस् या युरोप।

अमेरिका, युरोपका नागरिकहरूले आप्रवासीहरूलाई कुनै तहबाट पनि मन पराउँदैनन्। चाहे त्यो कुनै कार्यालयमा कागजात बनाउन जाँदा होस्, सपिङ मल, व्यापार, जागिर गर्ने सिलसिलामा होस्, आप्रवासीहरूले मानसिकरूपमा त्यहाँका नागरिकका अगाडि अपमान सहेर बस्न बाध्य छन्।

ती देशका नागरिकमा गरिब देशबाट आएर हाम्रो देशमा ठूलो हुन्छस्, हाम्रो रोजिरोटी, व्यवसाय, सुविधा खोसेर बसेको त छस्, होस् भन्ने जस्ता नकारात्मक सोच पलाएको देखिन्छ। त्यो अपमान ती देशमा बस्ने सबै नेपालीले महसुस गरेका छन्। 

नेपालमा भन्दा सम्मान, सुरक्षा, कामको इज्जत हुन्छ भनी ठूला–ठूला गफ दिने नेपालीहरू चाहे त्यो करोडौं, अर्बौं डलरको व्यवसाय, ग्रोसरी सप, रेस्टुरेन्ट व्यवसाय, पीएडी– प्रोफेसर, पत्रकार, कलाकार किन नहोस्, ती देशको समाज वा नागरिकको अगाडि तुच्छ, अपमानित भएर बसेका छन्।

उनीहरूलाई ती देशको कानुनले बस्न तथा काम गर्ने अनुमति, व्यवसाय–लगानी गर्ने, घर–सम्पत्ति किन्ने जस्ता पक्षमा बराबर अधिकार दिएपनि त्यहाँका समाज ,नागरिकको नजरमा तुच्छ, अलग, अपमानित भएर बसेका नै छन्।

यथार्थमा भन्दा सामाजिकरूपमा अपमानित भएर युरोप–अमेरिकामा रेस्टुरेन्ट व्यवसाय गर्नेको भन्दा नेपालमा ठेला व्यवसाय गर्नेको इज्जत छ। पीएडी–प्रोफेसर जागिर गर्नेभन्दा नेपालमा प्रा.वि.का शिक्षकको इज्जत छ।

डीभी परेर गएका विचराहरूको भन्दा खोलामा गिट्टी, बालुवामा काम गर्नेको इज्जत छ। यसको मतलब अरूको देशमा गएर त्यहाँका नागरिकका नजरमा अपमानित भएर बस्नुभन्दा आफ्नै देशमा ठेला व्यवसाय, प्रा.वि.का शिक्षक, गिट्टी–बालुवामा काम गर्न ठीक हुन्छ।

टेक्नोलोजीको शताब्दीमा विश्वका विकसित भन्ने मुलुकका नागरिकहरू आफ्नै देशमा आत्मनिर्भर भएर बसेका बेला नेपालीहरू भने तीदेशमा डीभी परेर, रोजगारी, घुम्न–प्ढन भन्दै उतै लुकेर बस्ने, नागरिता नै त्याग गरी बस्ने इत्यादि गरेको देखिन्छ। हामी नेपालीलाई सबै जिन्दगी, पैसा, दुनियाँ ती स्वर्ग भनिने देशमा छ भन्ने गलत सोचाइ छ।

जिन्दगीको विकल्प भनेको विदेश नै हो भन्ने वातावरण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बनाइदिएको छ। एनआरएनए जस्ता संघ–संगठन हुनु भनेको नेपाल सदा विदेशीको भरमा चल्नु हो, नेपाल–नेपालीलाई आत्मनिर्भर हुन नदिनु हो।

नेपालीलाई आत्मनिर्भर बनाउने, आफ्नै देशमा रोजगारको वातावरण बनाउने हो भने वैदेशिक रोजगार विभाग र एनआरएनएलाई तुरुन्त खारेज गर्नुपर्छ। वैदेशिक रोजगार विभाग राखेर सरकारले आफ्नै जनता, आफ्नै युवाशक्ति रश्रमलाई बाहिर बेचेको छ। कृपया यस्तो हुन नदिऔं र नगरौं पनि।

– झरना चोलागाईं,
भैंसीपाटी, ललितपुर।