संविधान संशोधन नभए सरकार छाड्ने : राई


इलाम, (नेस)।

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ। उहाँले संविधान संशोधन गर्न आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्नुभयो। सरकार र नेकपासँग अन्तिम पटक वार्ता गर्ने र संविधान संशोधन गर्न तयार नभए तत्काल सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो।

समाजवादी पार्टी इलाम नगर समायोजन घोषण सभालाई सम्बोधन गर्दै नेता राईले नेपाली समाजमा राजनीतिक क्रान्ति अझै बाँकी रहेको बताउनुभयो। उहाँले अन्य दलहरूले राजनीति क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहे पनि राजनीतिक क्रान्ति अझै बाँकी रहेको उल्लेख गर्नुभयो।

नेता राईले पहिचानसहितको संघीयता, सुशासन र सदाचारसहितको शासन व्यवस्था, गरिबी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायापूर्ण समाजवाद पार्टीको लक्ष्य भएको बताउनुभयो।

उहाँले नेकपाको अहिलेको शक्ति सधै कायम नरहने दाबीसमेत गर्नुभयो। कार्यक्रममा समाजवादी पार्टी इलाम नगरका संस्थापक अध्यक्ष टेकबहादुर गुरुङलाई सम्मान गरिएको थियो।