कर्मचारीमा डिप्रेसनको कारण हाकिम



एउटा मानिसले अर्को मानिसलाई गर्ने व्यवहारले जीवनमा सकारात्मक र नकारात्मक असर पर्न सक्छ। कुनै पेसामा आबद्ध भएको कर्मचारीलाई त्यहाँको कार्यालय प्रमुख तथा हाकिमले र अन्य कर्मचारीले राम्रो व्यवहार गरेको खण्डमा उक्त मानिसको काम गर्ने क्षमता दुई गुणाले वृद्धि हुन्छ।

करिब ७५ प्रतिशत कामदारको डिप्रेसनको मुख्य कारण उनीहरूको हाकिम हुने क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानमा उल्लेख गरिएको छ। कार्यालयको हाकिमले कर्मचारीलाई राम्रो व्यवहार गरेमा भविष्य राम्रो हुने र हाकिमले खराब व्यवहार देखाएमा भविष्यमा नै खतरा आइपर्ने सक्ने अनुसन्धानले देखाएको छ।

कामको क्रममा लिने तनावले स्वास्थ्यमा चुरोट तथा रक्सीले भन्दा बढी नकारात्मक असर पुर्याउने गरेको हावर्ड बिजनेस स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनले देखाएको छ।

दैनिकरुपमा हुने तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम हुने गरेको पाइएको छ। नराम्रो प्रवृत्तिका हाकिम सधैँ रिसाहा र हिंस्रक हुनुका साथै जहिले पनि आफ्नो गुनगान गाइरहेका हुन्छन्।

खराब प्रवृत्तिको हाकिमलाई काममा चित्त बुझाउन नसकिने वा काममा दबाब दिइराख्ने हाकिमसँग बसेर काम गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्नुका साथै शरीरमा चुरोटले भन्दा बढी हानि गर्ने गरेको हुन्छ।

सानो काम गर्न नसक्ने भनेर कराउने, धेरै काम दिने, काम बिगारेको आरोप लगाउने, नीच स्वभाव देखाउने तथा झर्कने गर्दा कर्मचारीहरू आफूले गरेको काममा शंका गर्न थाल्ने, उनीहरूको आत्मविश्वासमा कमी आउन थाल्ने, अरूसँग तुलना गर्न थाल्ने, विनाकाम गाली खाने गर्दा आफ्नो नोकरी जाने डरले विभिन्न तनाव उत्पन्न हुन सक्छ।

हाकिमका साथै कार्यालयमा काम गर्ने कर्मचारीहरूले पनि नराम्रो व्यवहार गरेमा, नआएको कुरा सिकाउनुभन्दा पनि मजाक बनाएमा, स–सानो कुरामा झगडा गरेमा समेत तनाव उत्पन्न हुन सक्छ। कार्यालयको हाकिम तथा कर्मचारीहरूले राम्रो व्यवहार गरेर हरेक कुरामा सघाउने, नयाँ कुरा सिक्न प्रेरित गरी सहयोगी भावका छन् भने एक सामान्य व्यक्ति पनि हरेक काममा सफलता हासिल गर्नुका साथै तनावमुक्त भई शारीरिक तथा मानसिकरुपले स्वस्थ रहन सक्छ।

– मारुनी थापा, नक्साल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्