खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिअनुसार खाद्य, पेय तथा सूर्तीजन्य पदार्थको मूल्यवृद्धि उच्च रहेको छ।

प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ९६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव शून्य ७ प्रतिशत रहेको छ।

कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्यवृद्धि उच्च देखिएको छ। राष्ट्र बैंकका अनुसार गैरखाद्य तथा सेवा समूहतर्फ घरायसी उपभोग्य वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्यवृद्धि केही बढी छ।

बृहत् आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५ दशमलव २० प्रतिशत, १ दशमलव २१ प्रतिशत र २ दशमलव २१ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३ दशमलव १९ प्रतिशतले घटेको छ।

प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ७६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक वित्तीय विवरणअनुसार कात्तिक महिनामा मुद्रास्फिति बढ्न पुगेको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव १५ प्रतिशत रहेको थियो।

मुद्रास्फिती कहाँ कति ?

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा काठमाडौं उपत्यकामा ६ दशमलव ५० प्रतिशत मुद्रास्फीति रहेको छ। यस्तै पहाडमा ४ दशमलव ५६ प्रतिशत, तराईमा ६ दशमलव शून्य ४ प्रतिशत, पहाडमा ४दशमलव ५६ प्रतिशत र हिमालमा ४ दशमलव शून्य १ प्रतिशत मुद्रास्फीति रहेको छ।

२०७५ कात्तिकमा यी क्षेत्रमा क्रमशः ४ दशमलव ५० प्रतिशत, ४ दशमलव ३१ प्रतिशत, ३ दशमलव ७९ प्रतिशत र ४ दशमलव ६२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ७६ प्रतिशत रहेकोमा भारतमा यस्तो (नोभेम्बर महिनाको) मुद्रास्फीति ५ दशमलव ५४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४ दशमलव १५ प्रतिशत र २ दशमलव ३३ प्रतिशत रहेको थियो।