औद्योगिक क्षेत्रमा ऊर्जा दक्षता बढाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जीआईजेड) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी उद्योगहरूमा ऊर्जा दक्षता विकास गर्ने भएको छ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघका सदस्य प्रतिष्ठानलाई सेवा तथा सुविधा उपलब्ध गराउन परिसंघमा छुट्टै ऊर्जा दक्षता डेस्क स्थापना समेत गरिएको बताउनु भएको छ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले ऊर्जाको खपत कम गरी वस्तु उत्पादनको लागत मूल्यमात्रै कम नभई विभिन्न ऊर्जाजन्य वस्तुको आयातमा समेत कमी आउने विश्वास व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा जर्मन राजदूतावासका डीसीएम डा. क्लाउडिया हाइपेले जर्मन संघीय सरकारले नेपाललाई ऊर्जा दक्षताको क्षेत्रमा मात्र नभएर अन्य विविध क्षेत्रमा सहयोग गर्न सक्ने बताउँदै यस विषयमा परिसंघसँग सघन छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

जर्मन संघीय सरकारको आर्थिक सहयोग तथा विकास मन्त्रालयको निमित्त जर्मन विकास सहयोग–जीआईजेडको प्राविधिक सहयोगमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयद्वारा कार्यान्वयन गरिएको नेपाल ऊर्जा दक्षता कार्यक्रमको प्रमुख उद्देश्य ऊर्जा दक्षतालाई नेपालमा ऊर्जाको एक स्रोतको रुपमा पहिचान गराउनु रहेको छ।

सन २०१० देखि सञ्चालित यस कार्यक्रमको हालको कार्यक्षेत्र नेपालमा ऊर्जा दक्षता तथा ऊर्जा संरक्षणको निमित्त नीति निमार्ण, विद्युत्को माग तथा आपुर्तिको वितरणमा नेपाल विद्युत प्राधिकरणको क्षमता अभिवृद्धि, ऊर्जा दक्षताको सेवा तथा वस्तुहरूको बजार विस्तार तथा उच्च शिक्षा तथा प्राविधक शिक्षामा ऊर्जा दक्षता विषय समाहित गर्ने रहेको छ।