व्यापार घाटा ४१४ अर्बभन्दा बढी

भारततर्फ निर्यात बढ्यो चीन र अन्य मुलुकमा भने घट्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्षको चार महिनामा कुल वस्तु व्यापार घाटा ८ दशमलव ९ प्रतिशतले संकुचन भई ४१४ अर्ब २ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव १ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव १ प्रतिशत रहेको थियो।

उक्त अवधिमा कुल वस्तु निर्यात २३ दशमलव ९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव ६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४ दशमलव ७ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैंचालगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७६÷७७ को चार महिनामा कुल वस्तु आयात ६ दशमलव ९ प्रतिशतले घटेर ४५० अर्ब ३० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५ दशमलव ८ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १० दशमलव ९ प्रतिशत र ८ दशमलव ७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२ दशमलव ८ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाई जहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगन्ज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ।

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका भन्सार नाकाबाट भएको आयातमा ह्रास आएको छ।