पत्रकारमाथि बलात्कारको आरोपमा क्षतिपूर्ति

0
Shares

टोकियो, (एजेन्सी)।

जापानको एक अदालतले एकजना चर्चित एवं वरिष्ठ टेलिभिजन पत्रकारलाई क्षतिपूर्तिस्वरुप अर्का महिला पत्रकारलाई ३० हजार अमेरिकी डलर तिर्न बुधबार आदेश दिएको छ।

सिओरी इतो नामक महिला पत्रकारले नोरियुकी यामागुचीलाई सन् २०१५ मा आफूलाई बेहोसीको हालतमा बलात्कार गरेको आरोप लगाएकी छिन्।

वकिलहरूले यस घटनालाई आपराधिक मुद्दा बनाउन यथेष्ट प्रमाण नपुगेकाले इतोले यसलाई सामाजिक मुद्दाकोरूपमा अघि सारेको बताएका छन्। यौन उत्पीडन सम्बन्धमा विरलै खुल्न वा बोल्न चाहने जापानी समाजमा इतो मि टु मुभमेनटको उदाहरणीय व्यक्ति बन्न पुगेकी छन्।

आफ्नो पक्षमा अदालती निर्णय भएपछि तीस वर्षीया इतोले खुसीयाली र सन्तुष्टि प्रकट गरेकी छन्। तर यामागुचीले पत्रकार सम्मलन गरी आफूले माथिल्लो अदालतमा यी निर्णयविरुद्ध अपिल गर्ने योजना बनाएको बताउँदै आफूविरुद्धको बलात्कारको आरोप अस्वीकार गरेका छन्।

इतोले भनेकी छिन्– ‘जापानका वर्तमान प्रधानमन्त्री सिन्जो आवेसँग निकटसम्बन्ध रहेका यामागुचीले सन् २०१५ मा आफूलाई जागिर लगाइदिने सम्बन्धमा छलफल गर्ने भन्दै मलाई रात्रीखानाका लागि आमन्त्रण गरेका थिए। सायद मलाई लठ्ठिने औषधी प्रयोग गरिएको हुनुपर्छ।

म एक्कासि बेहोश हुन पुगें। आँखा खुल्दा आफूलाई एउटा होटेलको कोठामा पाएँ। उनी मेरो शरीरमाथि थिए। यो घटना घट्दा इतो अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्समा इन्टर्नसिप गर्दै थिइन्। त्यसै गरी यामागुची जापानको प्रतिष्ठित सञ्चार कम्पनी टोकियो प्रशारण प्रणालीका लागि वासिंगटन ब्युरो चिफ रहेका थिए।

त्यतिबेला नै प्रहरीले थालेको अनुसन्धान प्रमाणको अभावमा त्यसै रोकिएको थियो। सन् २०१७ को सरकारी सर्भेक्षणमा केबल ४ प्रतिशत बलात्कारपीडितले मात्र प्रहरीमा उजुरी गर्ने गरेको पाइएको छ।