मृत्युदण्डको फैसलाप्रति पाकिस्तानी सेनाको कडा आपत्ति

0
Shares

इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानका पूर्वसैन्य शासक जनरल परवेज मुसर्रफलाई देशद्रोहको मामिलामा दोषी ठहर्याउँदै एक विशेष अदालतले मृत्युदण्ड सुनाएकोमा पाकिस्तानी सेनाले कडा आपत्ति जनाएको छ।

जनरल मुसर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको र यो अत्यन्त दुःखद भएको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कुनै पूर्वसैन्य प्रमुखलाई देशद्रोहको मामिलामा दोषी ठहर्याइएको र मृत्युदण्ड सुनाइएको पाकिस्तानको इतिहासकै यो पहिलो घटना हो। अदालतले यो पैmसला दुई तिहाइको बहुमतमा सुनाएको हो।

गफुरले बयानमा भनेको छ– ‘पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफले मुलुकको ४० बर्षसम्म सेवा गरे। जुन व्यक्तिले देशको रक्षाका लागि युद्ध लडे त्यो कहिल्यै देशद्रोही हुन सक्दैनन्। यो अदालती कारबाहीले संविधानको पनि उपेक्षा गरेको छ।

यहाँसम्म की अदालतमा आफ्नो बचाउ गर्ने अवसर पनि दिइएन, जुन आधारभूत अधिकार हो। बिना ठोस सुनवाई हतारमा फैसला सुनाइएको छ।गफुरले अदालती फैसला देशको संविधान अनुरुप हुनुपर्ने पाकिस्तानी सेनाले अपेक्षा गरेको बताएका छन्।

विशेष अदालतका ३ न्यायाधीशको बेन्चले उक्त फैसला सुनाएको हो। पेसावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षता रहेको बेन्चमा उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहौर उच्च अदालतका न्यायाधीश शाहिद करिम सहभागी थिए।

हाल जनरल परवेज मुसर्रफ दुबईको अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। एक भिडियो स्टेटमेन्टमा मुसर्रफले अस्पतालमा भने– ‘अदालतको फैसला पूर्णतया आधारहीन छ। मैले १० वर्षसम्म देश र सेनाको नेतृत्व गरें।

मैले पाकिस्तानका लागि युद्ध लडें। मलाई प्रताडित गरिएको छ। मुसर्रफको टोली अदालतको यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने तयारी गरिरहेका छन्। यदि सर्वोच्च अदालतले पनि यो फैसलालाई कायम राखेमा राष्ट्रपतिले मात्र संवैधानिक अधिकारअन्तर्गत मृत्युदण्ड माफ गर्न सक्नेछ।