नेकपा बैठक सुझाबै सुझाव

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समितिको बैठकमा नेताहरूले नेतृत्वको आलोचना गर्दै सुझाव राख्ने र गुनासो पोख्ने काम गरेका छन्। बैठकमा गुनासो सुनाउने र लिखित सुझाव राख्ने क्रम बढेको छ।

नेता वामेदव गौतम, घनश्याम भुसाल, जनार्दन शर्मालगायतका नेताहरूले लिखितरूपमा नै सुझाव पेस गरेका छन्। शीर्ष नेतृत्वले पार्टी एकताको भावनाअनुरूप अघिबढ्न नसकेको भन्दै आलोचनासमेत गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी सञ्चालनमा ८ र सरकारबारे २० सुझाब दिनुभएको छ।

बैठकमा अध्यक्ष र महासचिवले प्रस्तुत गरेका प्रतिवेदनमाथि लिखित भनाइ राख्दै उहाँले पार्टी एकतामा ढिलाइ, सरकारको काम र उपनिर्वाचनको समिक्षामा आत्मआलोचित हुँदै र नेतृत्वले जिम्मेवारी लिने कुरा स्पष्ट गर्नुलाई महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ।

गुटबन्दी र अराजकता आर्थिक सांस्कृतिक क्षेत्रमा देखिएका विचलनमात्र प्रचार हुँदा जनमनोविज्ञानमा कम्युनिस्ट पार्टीप्रति प्रश्न उठिरहेको बताउँदै शर्माले प्रतिवेदनको प्रस्तुतिपछि वैचारिक बहस, विधि र पद्धतिसहितको संगठनात्मक शुद्धीकरण प्रक्रिया शुरू गर्ने, अराजकता, भ्रष्टाचार अनैतिकता विरुद्धको संघर्ष राष्ट्रियताको सुदृढीकरणका लागि पहल गर्न सकिन्छ भन्ने आशाको दियो देखिएको बताउनुभएको छ।

उहाँले पार्टी, सरकार सञ्चालन, उपनिर्वाचन, संघीयता कार्यान्वयन र राष्ट्रियताबारे भिन्नाभिन्नै विषयमा बैठकमा सुझाव राख्नुभएको छ।
बैठकमा स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि राजीनामा मागेको भए दिन तयार हुँदाहुँदै पनि थाहै नदिई हटाइएकाले आफ्नो आत्मसम्मानमा चोट पुगेको भन्दै गुनासो गर्नुभएको छ।

उहाँको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘मन्त्रीबाट हटाउनु पहिले पार्टीले सामान्य जानकारी दिएर बाटो खाली गरिदिन भनेको भए सहज रूपमा स्वीकारिन्थ्यो। तर, अयोग्यजस्तो गरी हटाइयो। यसले हाम्रो आत्मसम्मानमा चोट पुगेको छ।’

बैठकमा स्थायी समिति सदस्य मातृका यादवले पार्टीमा प्रचण्डपथ ब्युताउनु पर्ने प्रस्ताव राख्नुभएको छ। उहाँले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्छ भन्दै प्रचण्डपथ नभएकै कारण पार्टी भद्रगोल हुन पुगेको बताउनुभयो।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने विषयमा सुझाव आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार जारी बैठकमा बुधबार १२ जना सदस्यले आफ्ना धारणा मौखिक र लिखित रूपमा प्रस्तुत गरेको बताउनुभयो। बुधबारको बैठकमा स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, गिरिराजमणी पोखरेल, हरिबोल गजुरेल, रघुजी पन्त, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले आ–आफ्नो सुझाव राख्नुभएको छ।