कांग्रेसमा रमिता बढ्यो

0
Shares

काठमाडौं, (नेस)।

गुट–उपगुटको मार खेप्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको बेमेल चरम उत्कर्षतिर पुगेको छ। पार्टीका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागवण्डा नमिल्दा हाल जारी केन्द्रीय समितिको बैठकसमेत प्रभावित भएको छ।

दुई नेताबीच देखिएको बेमेल मिलाउन लाग्नुभएका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पार्टीका दुई खेलामा नेतालाई मिलाउन नसकेपछि हात छिक्नुभएको छ।

चालू केन्द्रीय समितिको बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरू लगातार अनुपस्थित भएपछि बैठक केही दिनका लागि स्थगित भएको छ। दुवै गुटमा आफू नरहेको बताउँदै आउनुभएका नेता सिटौला बुधबार भने पौडेलले राख्नुभएको कोठे भेलामा सहभागी हुनुभएको थियो।

बैठकमा सहभागी भए पनि नेता सिटौलाले भने आफू कुनै गुटमा नरहेको जिकिर गर्नुभएको थियो।पौडेल निवास बोहोराटारमा भएको छलफलमा सहभागी नेताहरूले प्याकेजमा सहमति नभए केन्द्रिय समितिको बैठक लगातार बहिस्कार गर्ने अडान राखेपछि सिटौला निरास भएर फर्कनु भएको बैठकमा सहभागी एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए।

पौडेल पक्षले महाधिवेशनको एजेण्डालाई बढी जोड दिएको छ भने संस्थापन पक्षले बिभिन्न संघ–संगठनमा भागबण्डा गर्ने तर महाधिवेशनको विषयमा अहिले नहतारिने नीति लिएपछि केन्द्रीय समितिको बैठक प्रभावित भएको छ।

नेपाली कांग्रेसभित्र देखिएको विवादलाई लिएर केन्द्रीय सदस्य शिव हुमागाईले भने यो लडाई पाटी बनाउने भन्दा पनि आफ्ना मान्छेलाई कसरी सेटल गराउन सकिन्छ भन्ने शीर्ष नेताहरूको ध्याउन्न रहेको बताउनु भयो।

उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो – अहिले महाधिवेशनको तिथिमितिको कुरा सार्वजनीक भएपनि शीर्ष नेताहरूमा राम्रा मान्छे भन्दा पनि हाम्रा मान्छे पर्छन कि पदैनन् भन्ने चिन्ताले गाँजेको छ।

संस्थापन पक्षले ४१ वटा केन्द्रीय विभाग गठन गर्ने र संगठन, प्रचार, विदेश र जनसम्पर्क बिभगहरू आफैंले राख्ने प्रस्ताव आएपछि पौडेल समूह बिच्किएको छ।

बोहाराटारको भेलामा डा. रामशरण महतलगायतका नेताहरूले कार्यकाल सकिने बेलामा विभागहरू गठन गर्न आवश्यक नभएको धारणा राखेका थिए। लगातार बैठक बहिस्कार भएपछि संस्थापन पक्षले भने बैठक शुक्रबारकोलागि बोलाएको छ।